Search
Close this search box.

विपदबाट सचेत रहन कैलाशको आग्रहः सम्भावित विपद व्यवस्थापनको तयारीमा रहेको अध्यक्षको भनाइ

हेटौंडा–अविरल वर्षासँगै बाढी पहिरो जस्तो विपदजन्य जोखिम रहेकाले सचेत रहन मकवानपुरको कैलाश गाउँपालिकाले गाउँबासीलाई सचेत गराएको छ । बाढी पहिरोको उच्च जोखिममा रहेको कैलाश गाउँपालिकाले आइतबार सूचना जारी गर्दै निरन्तर वर्षाका कारण बाढी पहिरोका जोखिमका साथै जनधनको क्षति हुनसक्ने भन्दै सचेत रहन र आपत परेमा सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ ।

जिल्ला प्रहरी, स्थानीय प्रहरीका साथै गाउँपालिकाका पदाधिकारी र कर्मचारीहरुकोसमेत सम्पर्क नम्बर उल्लेख गरी गाउँपालिकाले कुनै विपदको जोखिम देखिएमा वा कुनै घटना भए तत्काल सम्पर्क गर्न आग्रह गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टद्धारा जारी विज्ञप्तिमा अझै केहीदिन भारी वर्षाको सम्भावना रहेकाले खोला, खहरेको तटीय बस्ती र पहिरो सम्भावित क्षेत्रमा बसोबास गर्नेहरुले आवश्यक सचेतता अपनाउन भनिएको छ ।

यता गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले गाउँमा कुनै पनि विपदका घटना नहोस् भनी सचेतना फैल्याउने काम गरिएको बताउँदै सम्भावित विपदको सामना गर्न गाउँपालिकाले आवश्यक व्यवस्थापन तयारी गरिसकेको बताए । विभिन्न संघसंस्थासँगको समन्वयमा आफूहरु सम्भावित विपदमा उद्दार र राहतका लागि तयारी हालतमा रहेको बताए । ‘सकभर गाउँमा विपद नपरोस् भन्नका लागि सचेत गराएका छौं, गाउँको भौगोलिक बनावटका कारण बाढी पहिरोको बढी जोखिम छ, यदि विपदका घटना भइहाले उद्दार, राहत र अन्य व्यवस्थापनको लागि गाउँपालिकाले तयारी गरेको छ ।’ उनले भने ।

गए रातिदेखि सुरु भएको वर्षा अझै केहीदिन निरन्तर हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan