हेटौंडा- करिब डेढ महिनादेखि बागमती प्रदेशसभाको बैठक नबोलाइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपा एमाले बामगती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले नागरिकहरुको आवाज बोल्ने थलोको रुपमा रहेको सदन बैठक नराखेर सरकारले नागरिकमाथि लापरबाही गरिरहेको आरोप लगाए ।
‘नागरिकहरु रोग र भोकसँग मात्र हैन विपद्सँग पनि लडिरहेकाछन् । बाढीपहिरोले जताततै क्षति पु¥याइरहेको छ, चामल, दाल जस्ता दैनिक उपभोग्यवस्तुहरुको महङ्गी बढेर नागरिकहरु तड्पिरहेका छन् । तर, सरकार कहाँ छ ? कसैलाई पत्तो छैन ।’ नेता थपलियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । गर्नुपर्ने कामहरु नगरेर सरकारले मनत्रालय फुटाउँदै मन्त्रीहरु थप्ने र राज्यलाई व्ययभार बढाउनेतर्फ केन्द्रित भएको भन्दै आपत्तिसमेत जनाइएको छ ।
‘प्रदेश सभालाई विजनेस दिन सकिरहेको छैन । संघीयताका बारेमा शंका उत्पन्न भएको तथा चौतर्फी प्रहार भइरहेको वर्तमान अवस्थामा संघीयता काम लाग्दैन भन्ने प्रमाणित गर्नेखालका यस्ता गतिविधिको नेकपा(एमाले) घोर निन्दा गर्दछ ।’ थपलियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । प्रदेश सभाको निर्वाचन सम्पन्न भई प्रदेश सभा सञ्चालन भएको ७ महिना भइसक्दा पनि कुनै पनि संसदीय समितिको पहिलो बैठक बस्न नसकेको प्रति पनि एमालेको ध्यानाकर्षण गराएको छ ।
प्रदेश सभाको बैठक तत्काल बोलाई आमनागरिकका समस्याहरुका बारेमा उनीहरुका प्रतिनिधिहरुलाई सदनमा छलफल गर्नेे व्यवस्था मिलाउन एमालेले माग गरेको छ । गत असार २१ गतेबाट प्रदेशसभाको बैठक बस्न सकेको छैन ।

