हेटौंडा–गाईभैंसीमा लाग्ने लम्पी स्किन रोगको महामारी रोकथाम गर्न बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सुरु गरेको सप्ताहव्यापी खोप अभियानअन्तर्गत तीन दिनको अवधिमा करिब साढे १३ हजार वटा पशुमा लम्की स्किनविरुद्धको खोप लगाइएको छ । प्रदेशका १३ वटै जिल्लामा साउन २५ गतेबाट सुरु गरिएको सप्ताहव्यापी अभियानअन्तर्गत शनिबारसम्म १३ हजार पाँच सय १६ वटा पशुमा खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
अभियानको पहिलो दिन चार हजार चार सय ६७, दोस्रो दिन चार हजार छसय ९४ र तेस्रो दिन शनिबार चार हजार तीनसय ५५ वटा पशुहरुमा खोप दिइएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । अभियानमा गाई, भैंसी, याक, साँढे, गोरु, राँगो, पाडापाडी र बाच्छाबाच्छीलाई खोप लगाइएको छ । प्रत्येक जिल्लाहरुमा स्थानीय तहहरुको समन्वयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत खोप कार्य भइरहेको छ । आगामी साउन ३१ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी खोप अभियानमा ९१ वटा स्थानीय तहमा एक सय ४६ जना भ्याक्सिनेटर खटाइएको मन्त्रालयले जनाएको छ ।
एकहप्ताको अवधिमा प्रदेशभर करिब साढे ४८ हजार वटा पशुमा खोप लगाउने लक्ष्य राखिएको छ । लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामको लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन कार्ययोजना, २०८० नै स्वीकृत गरी मन्त्रालयले अभियान थालेको हो । मन्त्रालयको साउन २२ गतेसम्मको तथ्यांकअनुसार प्रदेशभर लम्की स्किन संक्रमणबाट ६ हजार दुइसय ९१ वटा पशु चौपाय मरिसकेका छन् भने एक लाख १० हजार वटा पशु संक्रमित भएका छन् । करिब दुइलाख पशु चौपाय संक्रमणबाट प्रभावित भएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीको भनाइ छ । संक्रमणबाट १३ जिल्लामध्ये सबैभन्दा बढी नुवाकोट र धादिङमा पशु चौपाय मरेका छन् ।
सप्ताहव्यापी खोप अभियान अगावै प्रदेशमा नियमित रुपमा १ लाख ३२ हजार पशुमा लम्की स्किनविरुद्धको खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशमा लम्पी स्किनबाट पशुको बिरामी हुने दर १० दशमलव २७ प्रतिशत रहेको छ । पशुको मृत्युदर ३ दशमलव १ प्रतिशत रहेको छ ।
बागमती प्रदेशमा पशुपालन तथा पशुजन्य उत्पादनको क्षेत्रमा गाई÷भैँसीपालनको महत्वपूर्ण भूमिका रहेको छ । प्रदेशमा करिब ११ लाख वटा गाई, ९ लाख वटा भैंसी रहेको तथ्यांक छ । तिनीहरुबाट वार्षिक चार लाख ५५ हजार मेट्रिकटन दूध उत्पादन हुने गरेको छ ।

