हेटौंडा–वार्षिक कम्तीमा ५० हजार जनालाई रोजगारी दिने महत्वाकांक्षी लक्ष्यका साथ बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले श्रम तथा रोजगार नीति बनाएको छ । काम गर्न इच्छुक तर काम नपाएका व्यक्तिलाई लक्षित गरी मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरी वर्षमा कम्तीमा ५० हजार जनालाई रोजगारीको प्रत्याभूति गराउने नीतिमा उल्लेख छ ।
सोमबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले एक कार्यक्रमकाबीच नीति सार्वजनिक गर्दै नीति कार्यान्वयन गर्न चाँडै नै ऐन तथा कार्यविधि निर्माण गर्ने प्रतिवद्धता जनाए । प्रतिष्पर्धी जनशक्ति विकास तथा उत्पादनमुलक क्रियाकलापका लागि अनुकुल वातावरणको सिर्जना गरी सबैलाई गुणस्तरीय रोजगारी एवम् स्वरोजगारीका अवसर प्राप्त हुने श्रम तथा रोजगार नीतिले लक्ष्य राखेको छ । लक्ष्य प्राप्तिका लागि ५ वटा उद्देश्यका साथ २५ वटा रणनीतिहरु निर्धारण गरेको छ । वैेदेशिक रोजगारीमा जान चाहनेका लागि दक्ष र सीपयुक्त बन्न प्रेरित गर्ने नीति प्रदेश सरकारले लिएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको रोजगार नीतिमा प्रत्येक स्थानीय तहबाट कम्तीमा एक÷एक वटा श्रममुलक रोजगार लक्षित कार्यक्रम सञ्चालनका लागि स्थानीय तहहरुसँग सहकार्य गर्ने नीति अवलम्बन गरिने बताइएको छ । स्थानीयस्तरका विकास निर्माणका काममा श्रममुलक प्रविधिको प्रयोगलाई प्राथमिकता दिइने पनि जनाइएको छ ।अनौपचारिक क्षेत्रका श्रमिकलाई संगठित हुन सहज हुने कानुनी तथा संस्थागत व्यवस्था गर्नुका साथै उनीहरुलाई सामाजिक सुरक्षाका कार्यक्रममा सहभागी गराउन समन्वय र सहजीकरणको नीति लिइएको छ । उनीहरुको सीप तथा दक्षता अभिवृद्धिका लागि तालिम तथा दक्षता अभिवृद्धि कार्यक्रम गरी औपचारिक क्षेत्रमा ल्याउने पनि सोच बनाइएको छ ।
नीतिको कार्यान्वयनबाट दक्ष र सीपयुक्त जनशक्ति उत्पादन भई श्रम बजारको आवश्यकताबमोजिमको दक्षतायुक्त जनशक्तिको बजारमा आपूर्ति हुने अपेक्षा गरिएको श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव चिर्थराज भट्टराईले बताए । नीति कार्यन्वयनको क्रममा अनौपचारिक क्षेत्रका श्रमिकहरु औपचारिक क्षेत्रमा रुपान्तरण हुँदै जाने र श्रमिकको अधिकारको रक्षा र श्रम प्रशासनको पनि सुदृढीकरण हुने विश्वास गरिएको उनले बताए । प्रदेश श्रम तथा रोजगार नीति सार्वजनिक गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकार मातहतका कार्यालयमा अस्थायी तथा ज्यालादारीमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने नीति लिइएको बताए । उनले कृषि उत्पादनको मोडल परिवर्तन गरी रोजगारी सिर्जनाको कार्यक्रम अघि सारेको पनि बताए । सरकारले चालु आवमा समुदायमा आधारित कृषि उत्पादनको कार्यक्रम ल्याएको भन्दै उनले त्यस कार्यक्रमबाट प्रदेशमा २० हजारभन्दा बढी बढी किसान जोड्ने लक्ष्य राखिएको बताए ।
गृहिणी महिला कार्यक्रममार्फत गृहिणीलाई स्वरोजगार बनाउनुका साथै सिप सिकेरमा मात्र वैदेशिक रोजगारीमा जान प्रेरित गर्ने कार्यक्रम प्रदेशले ल्याएको मुख्यमन्त्री जम्कट्टेलले सुनाए । प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले श्रम क्षेत्रलाई व्यवस्थित गरी रोजगारी अभिवृद्धि नगरेसम्म समृद्धि सम्भव नहुने भएकाले सबैको ध्यान श्रम र रोजगारमा हुनुपर्नेमा जोड दिए ।

