हेटौंडा– योजनावद्ध ढंगले सुनको गरगहना र नगद चोरी गर्ने गिरोहलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । चोरी गर्ने उद्देश्यले नै काठमाडौंदेखि हेटौंडा आई सुनको गरगहना चोरी गर्ने तीन जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंबाट हेटौंडा आएका समूहले गत साउन ३० गते दिउँसो हेटौंडा–९ स्थित लामसुरेधापमा रहेको सुशिला साउदको घरबाट करिब साढे पाँच लाख रुपैयाँ बराबरको सुनको गरगहना र नगद चोरी गरेका थिए । नगद र गहना चोरी गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ का करिब २८ वर्षीय भीमलाल लामा, सोही ठाउँका अनदाजी २८ वर्षीय प्रदिप तामाङ, अन्दाजी २९ वर्षीय आकाश तामाङ र चोरिएको गहना खरिद गर्ने सिन्धुपाल्चोक घर भई काठमाडौं कागेश्वरी मनोहरा ८ मा रितु सुनचाँदी पसल सञ्चालक करिब ३२ वर्षीय राजेन्द्र रसाइलीलाई पक्राउ गरेको हो ।
उनीहरुले साउदको घर फोडेर सुनको सिक्री, सुनको बाला, चन्द्रहार, टप, मुन्द्रा, घडीसहित नगद ३० हजारसमेत चोरी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए । चोरी गर्नेहरुबाट प्रहरीले चोरीका सामानसहित एउटा मोटरसाइकल, ३ थान मोबाइल र नगद २४ हजार २ सय रुपैयाँ बरामद गरेको जनाएको छ । चोरी गर्ने समूहमध्येका एक जनाको खोजी भइरहेको प्रहरी उपरीक्षक रिजालले बताए । चोरी गर्ने उद्देश्यले उनीहरु साउन २९ गते २ वटा मोटरसाइकलमा हेटौंडा आएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट ६ दिनको म्याद थप गरिएको प्रहरी उपरीक्षक रिजालले बताए ।

