Search
Close this search box.

बागमतीका स्वास्थ्य मन्त्रीको सय दिने उपलब्धी: प्रादेशिक अस्पतालका सबै शैया निशुल्क, टेलिमेडिसिन उपकरण जडान

हेटौंडा–बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले आफू मन्त्री नियुक्त भएपछिको सय दिने उपलब्धी सार्वजनिक गरेका छन् । गत जेठ ७ गते नियुक्त भएका मन्त्री जोशीले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो नेतृत्वमा सय दिनमा भएका कामहरुको उजागर गरेका हुन् ।

बागमती प्रदेशका प्रादेशिक अस्पतालहरुको सबै शैया निशुल्क गराउनुलाई मन्त्री जोशीले आफ्नो सय दिनको सबैभन्दा महत्वपूर्ण उपलब्धी मानेका छन् । मन्त्रीस्तरीय निर्णयबाट बागमती प्रदेशभित्र रहेको १३ वटा प्रादेशिक अस्पतालका आइसियु, एनआइसियु र क्याबिनबाहेकका सबै शैया भदौ १ गतेदेखि निशुल्क गरिएको छ । प्रदेशका सबै अस्पताल गरी ८ सय ११ शैया निशुल्क उपलब्ध गराउन थालिएको छ ।

स्वास्थ्यमन्त्री जोशीले आफ्नो सय दिने कार्यअवधिमा गरेका उपलब्धीहरुलाई ३२ वटा बुँदामा प्रस्तुत गरेका छन् । प्रदेशभित्रका सबै आयुर्वेदिक अस्पतालबाट रिह्याबीटेशन र साइकोथेरापी सेवा पनि निशुल्क गर्न सुरु गरिनु अर्को उपलब्धी भएको भएको जनाइएको छ । सय दिने अवधिमा प्रदेशभित्रका करिब साढे ६ सय असहाय, सिमान्तकृत र लोपोन्मुख नागरिकको स्वास्थ्य मन्त्रालयमार्फत स्वास्थ्य बिमा गराइएको उल्लेख छ ।

स्वास्थ्य मन्त्रायले केही समयअघि प्रदेशका ५ वटा अस्पतालमा टेलिमेडिसिन सेवाका लागि उपकरण जडान गरेको छ । हाल उक्त उपकरणहरु परीक्षणका क्रममा रहेका छन् । जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक अस्पतालहरुमा डेंगु परीक्षणलाई निशुल्क गरिएको उल्लेख छ । त्यसका लागि सबै जिल्लामा करिब ९ हजार वटा डेंगु किट वितरण गरिएको छ ।

मन्त्री जोशीले सय दिने अवधिमा भएका केही नीतिगत निर्णयहरु पनि सार्वजनिक गरेका छन् । उनी मन्त्री नियुक्त भएयता ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको निशुल्क हवाई उद्धार सम्बन्धी कार्यविधि निर्माण भएको छ भने मन्त्रालय र मातहतका कार्यालयबाट सञ्चालन हुने कार्यक्रम कार्यान्वयन मार्गदर्शन पनि कार्यान्वयनमा गएको छ । सबै नीतिमा स्वास्थ्य सम्बन्धी निर्देशिकाको मस्यौदा तयार गरिएको साथै स्थानीय तहमा सञ्चालन गरिने सशर्त अनुदानअन्तर्गतका वार्षिक कार्यक्रम कार्यान्वयन मार्गदर्शनसमेत तयार गरी कार्यान्वयनमा गएको उल्लेख छ ।

मन्त्रालयले विभिन्न समयमा प्रादेशिक अस्पतालमा शवबाहक वितरण, विभिन्न किसिमका खोप, किटलगायतका सामाग्री हस्तान्तरण गर्ने काम भएको पनि जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan