Search
Close this search box.

दिगो विकास लक्ष्यको दृष्टिकोणमा तीव्रता सम्बन्धी कार्यशाला

हेटौंडा–दिगो विकास लक्ष्य प्राप्तिको अवस्था, त्यसको तीव्रता, हालसम्म प्राप्त उपलब्धीको विषयमा हेटौंडामा कार्यशाला आयोजना गरिएको छ । राष्ट्रिय योजना आयोग, प्रदेश नीति तथा योजना आयोग र संयुक्त राष्ट्र संघ प्रतिनिधिको कार्यालय, र खाद्य तथा कृषि संगठन नेपालको सहकार्यमा हेटौंडामा बुधबार संयुक्त राष्ट्र संघले संयुक्त रूपमा सदस्य राष्ट्रहरूले अपनाएका दिगो विकास लक्ष्यहरको मध्यावधि प्रगति समीक्षा गर्न दिगो विकास लक्ष्यको दृष्टिकोणमा तीव्रता सम्बन्धी कार्यशाला गोष्ठी गरिएको हो ।

२०२३ सेप्टेम्बरमा हुने दिगो विकास लक्ष्य शिखर सम्मेलनको पूर्व तयारीको रुपमा नेपालको दिगो विकास लक्ष्यको प्रगति स्थिति समीक्षा गर्ने, सन् २०३० सम्मको लक्ष्य प्राप्त गर्न प्राथमिकता क्षेत्रहरूको पहिचान गर्ने र सन् २०२६ सम्मको लक्ष्य प्राप्त गर्न आवश्यक तीव्रता लिन कार्यदिशा तय गर्न कार्यशालाको आयोजना गरिएको हो । दिगो विकास लक्ष्यको प्रगतिलाई गति दिने प्रयासहरूलाई प्रादेशिक र स्थानीय सरकारहरू, नीति निर्माता, निजी क्षेत्र, नागरिक समाज र विकास साझेदारहरू लगायतसँगको सहकार्यमा विभिन्न कार्यक्रम संचालनमा रहेका छन् ।

नेपालले आर्थिक रूपान्तरणलाई उत्प्रेरित गर्ने सम्भाव्यता भएका प्रमुख क्षेत्रहरू पहिचान गरेको छ । यसले गर्दा दिगो विकास लक्ष्य र अति कम विकसित राष्ट्रबाट स्तरोन्नतिमा सहयोग पुग्ने विश्वास लिइएको छ । दिगो विकासको लक्ष्य दृष्टिकोणमा तीव्रता ल्याउन सरोकारवालाहरू माझ जलवायु परिवर्तन, विकास वित्त, रोजगारी र सामाजिक सुरक्षा, खाद्य प्रणाली र पोषण, शिक्षा र स्वास्थका विषयमा कार्यशाला गोष्टीमा समुहगत छलफल भएको थियो । सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्तिमा देखिएका चुनौती र सन् २०२६ सम्मको आधार पहिचान गर्न कार्यशाला सहयोगी बन्ने दावी गरिएको छ ।

कार्यक्रममा लक्ष्य प्राप्तिको हालसम्मको अवस्थाको बारेमा समीक्षा गरिएको थियो । जलवायु प्रकोप, भूराजनीतिक अवस्था, विश्वव्यापी आर्थिक मन्दी र विश्वव्यापी रूपमा कोभिड १९ लगायतका कारणले पूर्व निर्धारित लक्ष्य हासिल गर्न समस्या देखिएको बताइएको थियो । कार्यशालाबाट प्राप्त हुने सुझावहरूका आधारमा दिगो विकास लक्ष्यलाई तीव्रता दिन तयार गरिने राष्ट्रिय दृष्टिकोणलाई २०२३ सेप्टेम्बर १८ र १९ मा संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजना हुने दिगो विकास लक्ष्य शिखर सम्मेलनमा नेपालको प्रतिवद्धताका रूपमा विश्व नेताहरू समक्ष प्रस्तुत गरिने बताइएको छ । उक्त शिखर सम्मेलनले लक्ष्यहरूप्रति विश्वमाझ सामूहिक प्रतिवद्धता र सबैलाई समावेश गरेर लैजाने विषयहरू निर्धारण गर्नेछ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan