हेटौंडा– हेटौंडा उपमहानगरपालिका– १६ नम्वर वडा कार्यालयले आफ्ना वडावासी विद्यार्थीलाई स्नातक तहमा नि:शुल्क अध्यापन गराउने भएको छ । हेटौंडा–१६ स्थायी बसोबास भएको र हेटौंडा नगर क्षेत्रभित्रकै सामूदायिक क्याम्पसमा स्नातक अध्ययन गर्न चाहाने विद्यार्थीलाई वडाले स्नातक तहको अध्ययनको खर्च व्यहोर्ने भएको हो ।
स्थानीय विद्यार्थीहरुलाई स्नातक तहको अध्ययनको लागि वडाले सम्पूर्ण खर्च व्यहोर्नेगरी प्रबन्ध मिलाइएको वडा अध्यक्ष रामकृष्ण कोइरालाले बताए । ‘पछिल्लो समय कक्षा– १२ अध्ययनपश्चात् अधिकांश विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विदेशिने गरेको र केहीले आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन नसकेको समस्यालाई मध्येनजर गर्दै हामीले स्नातक तहमा निशुल्क शिक्षाको प्रबन्ध मिलाएका हौँ ।’ वडाध्यक्ष कोइरालाले भने, यसले विद्यार्थीहरुलाई अध्ययनका लागि प्रेरणा मिल्छ ।’ साथै आर्थिक अवस्था कमजोर भएका अन्य तहका विद्यार्थीहरुलाई पनि वडा कार्यालयले शिक्षामा सबैको पहुँच स्थापित गर्ने नीति बमोजिम छात्रवृत्ति प्रदान गर्दै आएको उनले बताए ।
त्यस्तै वडा कार्यालयले कृषक प्रोत्साहन कार्यक्रमसमेत अघि सारेको छ । वडा भित्र सिचाईँका लागि कृषकहरुले सञ्चालन गर्दै आएको १३ वटा डिप बोरिङको विद्युत महसुल खर्च वडा कार्यालयले व्यहोर्ने जनाइएको छ । यो कार्यक्रमबाट कृषि तथा पशुपालनका लागि कृषकलाई प्रोत्साहन मिल्ने विश्वास लिइएको छ ।

