Search
Close this search box.

जेसीज सप्ताहः श्री आधारभुतलाई स्टेसनरी, लामिटारमा लागूऔषध बिरुद्ध सचेतना

हेटौंडा– चैनपुर जेसीज प्रस्तावितको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत सोमबार राक्सिराङ गाउँपालिका ३ मा रहेको श्री आधारभुत बिद्यालयलाई स्टेसनरी तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । सोमबार बिहान एक कार्यक्रमका बीच बिद्यालयको विपन्न तथा गरिब विद्यार्थीको सहजताको लागि कापी, कलम, सिसाकलमसहितको स्टेसनरी सामग्री र फुटबल सहयोग गरिएको हो ।

कार्यक्रम संयोजक चुडामणि अधिकारी गोपालको संयोजकत्व एवम् जेसीजका अध्यक्ष गणेशदर्पण अधिकारीको अध्यक्षता भएको कार्यक्रममा जेसीआई चैनपुर प्रस्तावितका अध्यक्ष सल्लाहकार ज्योतिराज लुइँटेलको प्रमुख आतिथ्यता रहेको थियो । सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै श्री आधारभुत विद्यालयका शिक्षक विजय थोकरले आगामी दिनमा पनि सहकार्यको लागि अनुरोध गरे । प्रमुख अतिथि लुइँटेलले सामाजिक कार्यसँगै युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि काम गर्न अनुरोध गरे । जेसीज अभियानलाइ सार्थकता दिन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उनको प्रतिबद्धता रहेको थियो ।

  यस्तै जेसीज सप्ताह अन्तरगत सोमबारै दिउँसो स्थानीय शिवशक्ति टोल विकास संस्थाको विशेष अनुरोधमा मनहरी गापा ३ लामिटारमा लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम भएको छ । गाउँमा लागूऔषध दुर्व्यसन बढेको भन्दै टोल विकास संस्थाले कार्यक्रमका लागि अनुरोध गरेको हो । कार्यक्रम संयोजक सुवास खड्काको संयोजकत्वमा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय नेवारपानीका प्रहरी सहायक निरीक्षक कृष्ण न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुर रिकभरिङ समूहका महासचिव सन्दिप शाक्य, साहारा समूहका अनिल तामाङ र सहायक निरीक्षक न्यौपानेले सहजीकरण गरेका थिए । कार्यक्रममा शिवशक्ति टोल विकास संस्थाका अध्यक्ष इन्दिरा राई, जेसीज सप्ताह सहमुल कार्यक्रम संयोजक मिलन ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan