हेटौंडा– नेपालीहरुको सबैभन्दा ठूलो पर्व दसैंको अवसरमा मकवानपुरको कैलाश गाउँपालिकाले भीमफेदी कारागारमा रहेका कैदीबन्दीका लागि खसी र खाद्यान्न उपलब्ध गराएको छ । कारागारमा रहेका कैदीबन्दीलाई सुखद तरिकाले दसंै मनाउनको लागि गाउँपालिकाले खसी र खाद्यान्न सहयोग गरेको हो ।
बुधबार पालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले २ वटा खसी, चिउरा र तेल कारागारलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा पालिकाका लेखा प्रमुख नविन धिताल, रोजगार संयोजक अर्पण लामा, १० नम्बर पुर्ववडाध्यक्ष माणिकलाल मुक्तान लगायतको उपस्थिति थियो ।
अध्यक्ष मुक्तानसहितको टोलीले पालिकाका कारागारमा रहेका कैदीबन्दीसँग भेटघाट गरि शुभकाकना आदानप्रदान समेत गरेका थिए । कारागारमा एक हजार ३८ पुरुष, ३७ महिला कैदीबन्दी र २ जना आश्रित नाबालक रहेका छन् । कारागारमा २ वटा पुरुष ब्लक र १ वटा महिला ब्लक रहेको छ ।

