Search
Close this search box.

अटोमा आवतजावत गर्दै प्रदेश मन्त्री

हेटौंडा– अफूले सुविधाबापत पाएको सरकारी गाडी बिग्रिरहने समस्याका कारण बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार तीनपाङ्ग्रे भाडाको अटोमा हिँड्न बाध्य बनेका छन् । भर्खरै फुटेर बनेको मन्त्रालयलाई एउटा मात्र गाडी उपलब्ध छ । त्यो गाडी पनि बिग्रिरहने समस्या भएपछि मन्त्री चित्रकार भाडाको अटोमा हिँड्ने गरेका हुन् ।

बुधबार बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकमा सहभागी हुन जाने क्रममा उनले प्रयोग गर्दै आएको बागमती प्रदेश ३००१ झ ००७७ नम्बरको स्कोरपियो बिग्रिएपछि उनी हिँडेरै बैठकमा पुगे । फर्कँदा पनि सबै मन्त्रीहरु आ–आफ्नो गाडी लिएर हिँडेपछि उनी आफ्नो सुरक्षाकर्मी र स्वकीय सचिवसँग हिँड्दै उपमहानगरपालिका छेउमा आएर अटो चढेर मन्त्रालय पुगे । मन्त्रालयलाई प्राप्त एउटा स्कर्पियो गाडी पुरानो भएकाले बिग्रिरहने समस्याका कारण दुःख पाइएको मन्त्री चित्राकारले गुनासो गरे । मन्त्रालयका सचिवदेखि महाशाखा प्रमुखले पनि पैदल हिँडेरै काम चलाइरहेको उनले बताए ।

गाडी अभाव र पुरानो भएको विषयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र मुख्य सचिव घनश्याम उपाध्यायलाई पटक पटक जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको उनको भनाई छ । महत्वपूर्ण कार्यक्रम र बैठकमा जाँदा धेरै पटक हिँडेरै काम चलाएको मन्त्री चित्राकारले बताए ।
यसअघि मन्त्रालयमा रहेको ४ वटा गाडी मुख्यमन्त्री कार्यालय लगायतको स्थानमा प्रयोग भैरहेको छ । ९३ दिन विना विभागीय मन्त्रीको रुपमा रहेका चित्राकारले बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयलाई फुटाएर संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय बनाएपछि उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan