Search
Close this search box.

हेटौंडामा ४७ करोड खर्चिएर बनाइयो धुलो दूध कारखाना

हेटौंडा– बागमती प्रदेश सरकारले प्रदेश राजधानी हेटौंडामा धुलो दूध तथा बटर उत्पादन गर्ने कारखाना स्थापना गरेको छ । करिब ३ वर्ष लगाएर हेटौंडा–१० स्थित सिसौघारीमा २ बिगाहा जग्गामा स्थापना गरिएको धुलो दूध कारखाना सञ्चालनको अन्तिम तयारीमा रहेको छ ।

बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत रहेको प्रदेश दुग्ध विकास बोर्डको ४७ करोड लगानीमा धुलो दूध कारखाना स्थापना भएको हो । एक वर्षभित्र सम्पन्न गर्नेगरी इजी इन्फ्रा प्रालिसँग २०७७ पुस १ गते ४१ करोड २२ लाख ७१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएता पनि कोरोना महामारी र अन्य विविध कारणले तीन पटक म्याद थप गरी कारखाना तयार गरिएको हो । सुरुमा ४१ करोड २२ लाख रुपैयाँ अनुमान गरिएता पनि पछि काम बढेकाले कारखानाको लागत ४७ करोड पुगेको प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टीकाबल्लभ सापकोटाले जानकारी दिए ।

आवश्यक भौतिक निर्माण र उपकरण जडान सकिएसँगै कारखानामा परीक्षण उत्पादन सुरु गरिएको ठेकेदार कम्पनीले जनाएको छ । ‘भौतिक निर्माण र जडानको काम सबै सकिएको छ, अहिले हामीले मेसिनहरुमा पानी राखेर परीक्षण गरिरहेका छौं, अहिलेसम्म सफल परीक्षण भइरहेको छ ।’ निर्माण कम्पनी इजी इन्फ्रा प्रालिका म्यानेजर उत्तम पौडेलले भने–‘विभिन्न चरणको परीक्षण सकेर हामी १ हप्ताभित्र धुलो दूध उत्पादन गरी प्रदेश सरकारलाई प्लान्ट हस्तान्तरण गर्नेछौँ ।’ पानी, ग्यास र हावा राखेर पालैपालो परीक्षण गरी सफल भएपछि दूध हालेर धुलो दूध र बटर उत्पादन सुरु हुने पौडेलले बताए ।

धुलो दूध कारखाना स्थापनासँगै बागमती प्रदेशसहित अन्य प्रदेशका दुग्ध किसानले उत्पादन गरेका दूधको सहज बजारीकरण हुने विश्वास लिइएको छ । कारखाना दैनिक ६० हजार लिटर दूध खपत गर्ने क्षमताको रहेको छ । नियमित रुपमा सञ्चालनमा आएमा प्लान्टबाट प्रतिदिन ५ मेट्रिक टन र प्रतिवर्ष एक हजार पाँच सय टन धुलो दूध उत्पादन हुने अनुमान गरिएको प्रदेश दुग्ध विकास उपाध्यक्ष सापकोटाले बताए ।

धुलो दूध कारखाना निर्माण अन्तिम चरणमा रहँदा पनि त्यस कारखाना कसरी सञ्चालन गर्ने र जनशक्ति व्यवस्थापन र अन्य व्यवस्थापन कसरी गर्ने भन्ने निक्र्यौल भने भइसकेको छैन । ‘प्रदेश सरकारले आफैं व्यापार गरेर बस्ने कुरा भएन, निजी क्षेत्रसँग साझेदारी गर्ने कि भन्नेबारे पनि छलफल भइरहेको छ ।’ बोर्डका उपाध्यक्ष सापकोटाले भने–‘यही मोडलबाट सञ्चालन गर्नेभन्नेबारे निर्णय भइसकेको छैन । हामी छलफलमै छौँ ।’ तत्काललाई डीडीसीमातहत सञ्चालन गर्नेगरी छलफल गरिरहेको उनले बताए ।

प्लान्ट सञ्चालन गर्नका लागि दूध ट्यांकर, मेकानिकल इन्जिनियर, डेरी टेक्निसियनलगायतका जनशक्ति डीडीसीसँग रहेकाले तत्काललाई उसैलाई सञ्चालन गर्न दिने सोचका साथ छलफल भइरहेको उपाध्यक्ष सापकोटाको भनाइ छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan