मकवानपुर – हेटौंडा–१३ वनस्पतिकी सूर्यकुमारी लामा उमेरले ७३ वर्ष भइन् । आफ्नो र परिवारको हातमुख जोर्न २२ वर्षदेखि कुखरेनी किनारमा बालुवा चालिरहेकी उनले उमेर ढल्केको पत्तै पाइनन् ।
विहान ७ बजे देखि बेलुकी ५ बजे सम्म बगरमा बालुवा चाल्नु उनको दैनिकी हो । बालुवा नचाले बिहान बेलुकाको छाक टार्नै नसक्ने बताउने उनी अब उमेर बढ्दै जाँदा काम गर्न नसकिने भइयो भन्ने पीरमा छिन् । ‘अब त उमेर पनि ढल्केछ । रातभर ज्यान दुख्ने र ज्वरोसमेत आउँछ । काम नगरुँ भने दुइछाक खान पाइँदैन । अरु काम गरुँ भने केही छैन ।’ लामाले न्याउरो अनुहार पार्दै भनिन् ।
२९ वर्षअघि पति बितेपछि हो सूर्यकुमारीको जीवनमा दुःखले स्थायी बास गरेको । पति बित्दा छोराछोरी बालकै थिए । त्यो जमानामा दिनभरी भारी बोकेर एक कुरुरा अन्न पाउथिन्, त्यही पकाएर छोराछोरीको र आफ्नो पेट भर्थिन् । पछि उनी बालुवा चालेर पाएको पैसाबाट आफ्नो र परिवारको दैनिकी चलाउन थालिन् । कुखरेनीको बगर कोपर्न थालेको २२ वर्ष बितिसक्दा पनि उनी त्यहाँबाट उम्कन सकेकी छैनन् । ‘बुबा नभएपछि छोरीछोरीलाई खान लाउनै समस्या भयो, राम्ररी पढाउन पनि सकिनँ । बालुवा चालेर नै छोराछोरीको बिहेसम्म गरिदिएँ । अझै मलाई दुःखले भने छोडेको छैन ।’ उनी भन्छिन् ।
छोराछोरी मात्र नभइ बालुवा चालेरै अहिले पनि ७ जना नातिनातिनालाईसमेत पढाई खर्च जुटाइरहेको उनी सुनाउँछिन् । काम गरेर खाने बाटो अरु केही नहुँदा छोराहरु यतिकै बस्नु परेको समेत उनी बताउँछिन् । २० दिनसम्म बालुवा चालेपछि एक ट्याक्टर भरिएपछि बल्ल दुई हजार रुपैयाँ कमाउँछिन् सूर्यकुमारी । बालुवा चालेको पैसाले खान मात्र पुग्ने र घरमा कोहि बिरामी परे ऋणनै गर्नु पर्ने बाध्यता रहेको उनी बताउछिन् । बर्खामा केही महिना बालुवा चाल्ने काम नहुँदाका लागि घर धान्नका लागि अगाडि कमाएको पैसा केही जोहो गरेर राख्छिन् उनी । ‘दःुख नगरी हात र मुख जोड्न कहिले पुगेन, दुखीको जीवन दुःखमै बित्यो ।’ उनले निराश हुँदै भनिन् ।
हेटौंडा–१३ वनस्पति कै ५३ वर्षीया फूलमाया थिङको दैनिकी पनि सूर्यकुमारीको जस्तै छ । दैनिक कुखरेनीमा बालुवा नचाले उनको पनि घरमा चुल्हो बल्दैन । ५२ सालमा वनस्पतिमा बसाईँ आएकी फुलमाया थिङले सुरुमा ऊन बाट्ने काम गर्थिन् र पछि ऊन आउन छोडेपछि घर व्यवहार चलाउन मुस्किल परेपछि बालुवा चाल्ने काम सुरु गरेको उनी बताउछिन् । सम्पतिको नाममा वनस्पतिमा सानो घर मात्र रहेको र बालुवा चालेर नै अहिलेसम्म मुस्किलले खान पुगेको उनी बताउँछिन् ।
‘म एक्लैलाई एक ट्याक्टर बालुवा चाल्न १५ दिन लाग्छ । त्यति बालुवाको २ हजार रुपैयाँ पाउने गरेको छु ।’ उनी भन्छिन् –‘उमेर ढल्किँदैछ, बालुवा चाल्दा साह्रै ज्यान दुखेर अब काम गर्न सकिन्नकि जस्तै हुने गर्छ ।’ बगरमा बालुवा चाल्ने ठाउँ सकिँदै गएको भन्दै फूलमाया दुखी पनि छिन् । सुर्य कुमारी र फुलमाया जस्तै कुखरेनी बगरमा कयौँ बालुवा चाल्नेहरुको दुःख एउटै छ । दुइछाक पेट भर्नकै लागि दिनभर बगर कोपर्नुपर्ने बाध्यता उनीहरुको छ ।


