हेटौंडा – हेटौंडा– ६ का गृहिणी महिलाको समूहले दालमोठ र आलु चिप्स उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएका छन् । १२ जना गृहिणी महिला मिलेर खाद्य उद्योगको अनुज्ञापत्र प्राप्त गरी सक्रिय महिला उद्योग सञ्चालनमा ल्याएका हुन् ।
हेटौंडा उपमहानगरपालिकाबाट सात दिने तालिम प्राप्त गरेपछि गृहिणी महिलामा उद्योग स्थापनाको सोच पलाएको हो । मंगलबार पत्रकार सम्मेलन गर्दै उद्योगकी अध्यक्ष अनुराधा उप्रेतीले दालमोट र आलुचिप्स बनाउने तालिम लिएपछि १२ जना गृहिणी महिला मिलेर आवश्यक पक्रिया पूरा गरी उद्योग स्थापना गरेको बताइन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मार्फत अनुज्ञापत्रसमेत लिइएको उनले बताइन् ।
हेटौंडा– ६ रामनगरमा कोठा भाडामा लिएर संचालन गरिएको उद्योगबाट बनाइएको आलु चिप्स १०० ग्रामको १०० रुपैयाँ र दालमोट ५०० ग्रामको २५० मूल्य निर्धारण गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि ६ नम्बर वडाध्यक्ष विष्णु बहादुर दाहालले गृहिणीहरु चुल्होचौका छोडेर घरको आर्थिकोपार्जनमा लागेकोमा खुसी व्यक्त गर्दै उद्योगको निरन्तरताको लागि आफूहरुले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । हेटौंडा उपमहानगरपालिकाका उद्योग शाखा प्रमुख हिम प्रसाद पौडेलले उद्योगलाई प्याकजिङका लागि उपयुक्त मेसिन हस्तान्तरण गरिने प्रतिवद्धता जनाउँदै हाते मेसिन प्रयोग गर्नुपर्ने बाध्यात्मक स्थिति हटाइने बताए ।
कार्यक्रममा ६ नम्बर वडा सदस्य बिजय पौडेल, तालिमका प्रशिक्षक शोभा श्रेष्ठ , सूचना श्रेष्ठ, महिला उद्यमी गिता मैनाली, हेटौंडा उपमहानगरपालिकाका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
हेटौंडा उपमहानगरपालिका उद्योग शाखाले उद्यमशिलता, रोजगारी आजको आवश्यकता भन्ने मुल उद्देश्यका साथ महिलाहरुलाई उद्यमसंग जोड्न विभिन्न कार्यक्रम गरिरहेको जनाएको छ ।


