हेटौँडा । पछिल्लो समय बालबालिकामा समेत मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या देखिन थालेपछि हेटौँडामा बाल सञ्जालका पदाधिकारीलाई लक्षित गरी मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
बाल हेल्पलाइन सिविनको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको समन्वयमा आइतबार आयोजित कार्यक्रममा बालबालिकालाई मानसिक स्वास्थ्य र मनोसामाजिक समस्याबारे जानकारी गराइएको हो ।
कार्यक्रममा प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाका उपनिर्देशक भीमप्रसाद तिमल्सिनाले बालबालिकाको क्षेत्रमा सिविनले गर्दै आएको कामको प्रशंसा गर्दै बाल सञ्जालको विकास र सशक्तीकरणका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए । पछिल्लो समय बालबालिकामा समेत मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिन थालेको उल्लेख गर्दै उनले यस्ता कार्यक्रम बालबालिकाका लागि आवश्यक र प्रभावकारी रहेको बताए ।
सिविन मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञवालीले पछिल्लो समय बालबालिकामा उदासीनता लगायतका मनोसामाजिक समस्या बढ्दै गएको र कतिपय बालबालिका औषधिको सहारा लिनुपर्ने अवस्थासम्म पुगेको बताए । यस्ता समस्या पहिचान गर्ने, रोकथाम गर्ने र समस्या आइपरे समाधानका उपायबारे जानकारी दिने उद्देश्यले कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनले बताए ।
कार्यक्रममा मनोसामाजिक तालिम प्राप्त सिविनकी सहजकर्ता रस्मिता कुमारी रिजालले प्रशिक्षण दिएकी थिइन् । उनले मानसिक स्वास्थ्य तथा मनोसामाजिक स्वास्थ्यको अवधारणा, समस्या उत्पन्न हुनुका कारण, प्रकार, असर, समस्या पहिचान गर्ने तरिका र आफ्ना समस्या व्यक्त गर्ने उपायबारे सहजीकरण गरेकी थिइन् ।
हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडाका वडा बाल सञ्जाल तथा नगर बाल सञ्जालका पदाधिकारीको सहभागिता रहेको कार्यक्रममा ४० जना बालबालिकाको उपस्थिति थियो ।
कार्यक्रममा सहभागी बालबालिकाले मानसिक स्वास्थ्यसम्बन्धी ज्ञान आफ्ना लागि नयाँ र अत्यावश्यक रहेको प्रतिक्रिया दिएका थिए । मानसिक स्वास्थ्य समस्याबारे जानकारी नहुँदा प्रभावित व्यक्तिलाई विभिन्न अपशब्द प्रयोग गर्ने र गलत व्यवहार गर्ने गरेको उल्लेख गर्दै उनीहरूले यस्ता समस्याप्रति संवेदनशील हुन कार्यक्रमले सिकाएको बताए । सिकेका कुरा बाल सञ्जालमार्फत अन्य बालबालिकासम्म पुर्याउने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।
यसअघि सिविन मकवानपुरले मंसिर १२ गते शनिबार मनहरीका बाल सञ्जालका करिब ४० जना पदाधिकारीलाई समेत मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको प्रबन्धक ज्ञवालीले जानकारी दिए ।

