Search
Close this search box.

हेटौँडामा शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई अभिमुखीकरण

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१० मा आयोजना हुन लागेको बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सव–२०८३ को तयारीस्वरूप शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई अभिमुखीकरण गरिएको छ ।

वडा नम्बर १० कार्यालयको आयोजनामा आइतबार भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सहभागी थिए ।

कार्यक्रममा प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक र विद्यालयसँगै अभिभावकको भूमिका पनि महत्त्वपूर्ण हुने बताइन् । उनले बागमती प्रदेशको राजधानी हेटौँडाका विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्न सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखिन् ।

अभिमुखीकरणमा विद्यार्थीको मनोबल वृद्धि, ध्यान केन्द्रित गर्ने क्षमता विकास, सिकाइप्रति उत्प्रेरणा जगाउने तथा सकारात्मक सोचको विकासलगायत विषयमा सहजीकरण गरिएको थियो । वरिष्ठ नृत्य निर्देशक छेडुप लामाले आत्मिक शान्ति र सकारात्मकताबारे प्रशिक्षण दिनुभएको थियो भने बृहत् राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरेले शिक्षक तथा अभिभावकलाई लक्षित गरी प्रेरणामूलक अभिमुखीकरण गरेका थिए ।

“हामी बनाउँछौँ हाम्रो विद्यालय, नैतिक शिक्षा हाम्रो पहिचान र दुर्व्यसनमुक्त विद्यालय हाम्रो अभियान” भन्ने तीन नारासहित महोत्सव आयोजना गर्न लागिएको वडा नम्बर १० का अध्यक्ष फुर्वा दोर्जे लामाले जानकारी दिए ।

उनका अनुसार महोत्सवमार्फत हेटौँडाका सामुदायिक विद्यालयका विद्यार्थीलाई स्थानीय संस्कृति, धर्म, परम्परा र पहिचानसँग परिचित गराउनुका साथै उनीहरूमा उद्यमशीलता, स्थानीय सीप र कलाको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ । विद्यार्थीका प्रतिभा र सिर्जनात्मक क्षमतालाई उजागर गर्ने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको उनले बताए। कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक रोचक थापा, विद्यालय व्यवस्थापन समिति महासंघका राष्ट्रिय सचिव समिम खान, उपमहानगरपालिकाका महाशाखा प्रमुख भीमप्रसाद तिमिल्सिना, वडा नम्बर ११ की अध्यक्ष जुना दाहाल, शिक्षा विकास महाशाखाका पदाधिकारीलगायतको सहभागिता थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan