हेटौँडा । हेटौँडाको साहित्यिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक अन्तर्राष्ट्रिय साहित्य महोत्सव आयोजना हुने भएको छ ।
हेटौँडा उपमहानगरपालिका र हेटौँडा अन्तर्राष्ट्रिय साहित्य महोत्सव मूल आयोजक समितिको आयोजनामा आगामी मङ्सिर १९ र २० गते हेटौँडा अन्तर्राष्ट्रिय साहित्य महोत्सव–२०८३ हुन लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
महोत्सवमा नेपाल, भारत र भुटानका चर्चित साहित्यकार, कवि तथा स्रष्टाहरूको सहभागिता रहनेछ ।
हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले साहित्य, कला र संस्कृतिका माध्यमबाट हेटौँडाको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महोत्सवले महत्वपूर्ण योगदान पुर्याउने बताइन् । साहित्य र संस्कृतिमा गरिने लगानीले नगरको दीर्घकालीन पहिचान स्थापित गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।
मूल आयोजक समिति संयोजक डा. निमेष निखिलले विभिन्न देशका स्रष्टाबीच सिर्जनात्मक संवाद र अनुभव आदानप्रदान गराउनुका साथै साहित्यिक पर्यटनको सम्भावना उजागर गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको बताए।
दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा साहित्यिक विमर्श, कविता तथा गजल वाचन, पुस्तक विमोचन, सिर्जना प्रस्तुति र सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ ।
त्यस्तै, तामाङ तथा चेपाङ समुदायका मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ । महोत्सवमा सहभागी स्रष्टाहरूलाई सहिद स्मारक, मकवानपुरगढी र गुम्बाडाँडालगायतका पर्यटकीय स्थलको भ्रमणसमेत गराइने कार्यक्रम रहेको छ ।

