हेटाैंडा- सेवा प्रवाह तथा सुशासनसँग सम्बन्धित कानुनबारे अन्तरक्रिया कार्यक्रम बुधबार हेटौंडामा सम्पन्न भएको छ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको उक्त कार्यक्रममा सञ्चारकर्मीबीच अन्तर्किया तथा छलफल भएको थियो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीको सभाध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियोे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री श्रेष्ठले प्रदेश सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको बताए।प्रदेश सरकारले सुशासन कायम गर्न आवश्यक कानुन निर्माण गरिरहेको जानकारी दिँदै प्रदेश सरकार नयाँ संरचना भएकोले बिस्तारै काम भइरहेको बताए ।
प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमा लागिरहे पनि कानुन निर्माणलाई प्राथमिकता दिएको बताए ।
सबै जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिदै सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्ति भएपछि बनेका तीन तहका सरकार सुशासन कायम गर्न लाग्नुपर्नेमा जोड दिए । लोकतन्त्र बलियो भएमात्र पत्रकार र सञ्चार माध्यम शक्तिशाली हुने उनको भनाइ थियोे ।
अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका कानुन महाशाखा प्रमुख मनुका घिमिरेले विधि, कानुन निर्माण प्रक्रिया र सेवा प्रवाह र सुशासनमा सञ्चार माध्यम प्रस्तुत गरेकी थिइन् । त्यसैगरी पत्रकार सुरेश श्रेष्ठले सञ्चारकर्मीको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

