हेटौंडा– मकवानपुरको १० वटा स्थानीय तहमध्ये विकट कैलाश, राक्सिराङ र मनहरी गाउँपालिका बजेट खर्चमा अब्बल देखिएका छन् । आर्थिक वर्ष २०८०/०८१ को बजेट कार्यान्वयनमा प्रतिशतको हिसाबले तीन पालिकाले ८४ प्रतिशतमाथि खर्च गरेका हुन् ।
जिल्लाको मनहरी गाउँपालिकाले भर्खरै सकिएको आर्थिक वर्षमा कुल विनियोजनको ८७ दशमलव ८५ प्रतिशत बजेट खर्च गरेको छ भने राक्सिराङ गाउँपालिकाले पनि कुल विनियोजनको ८६ दशमलव २८ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । कैलाश गाउँपालिकाले पनि कुल विनियोजनको ८४ दशमलव ०४ प्रतिशत खर्च गरेको छ । मनहरी गाउँपालिकाको कुल ९० करोड ५९ लाख २१ हजार बजेटमध्ये ७९ करोड ५८ लाख ९३ हजार रुपैयाँ खर्च भएको छ । जसमा चालुतर्फ ४२ करोड ६८ लाख १८ हजार अर्थात विनियोजनको ८७ दशमलव ९ र पुँजीगततर्फ ३६ करोड ९० लाख ७४ हजार अर्थात विनियोजनको ८७ दशमलव ७ प्रतिशत खर्च भएको गाउँपालिकाका लेखा शाखका अधिकृत देवेन्द्र प्रधानले जानकारी दिए ।
त्यस्तै राक्सिराङ गाउँपालिकाले आव २०८०/०८१ मा ६३ करोड २४ लाख ९६ हजार रुपैयाँको बजेट कार्यान्वयन गरेकोमा ५४ करोड ५७ लाख ५८ हजार रुपैयाँ खर्च गर्न सफल भएको छ । चालुतर्फ २३ करोड ५४ लाख ९२ हजार अर्थात विनियोजनको ८७ दशमलव ३७ र पुँजीगततर्फ ३१ करोड २ लाख ६६ हजार अर्थात विनियोजनको ८५ दशमलव ४७ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाका लेखापाल सत्यन्द्र आचार्यले बताए ।
प्रतिशतका हिसाबले चालु बजेटको तुलनामा पुँजीगत खर्च धेरै गर्नेमा जिल्लामा कैलाश गाउँपालिका मात्रै रहेको छ । कैलाशले गत आवमा ५२ करोड ४२ लाख ५५ हजार रुपैयाँ बजेट कार्यान्वयन गरेकोमा चालुतर्फ २६ करोड ८३ लाख ४० हजार अर्थात ८३ दशमलव १५ प्रतिशत खर्च गरेकोमा विकास बजेटतर्फ १७ करोड ११ लाख १४ हजार अर्थात विनियोजनको ८४ दशमलव ९४ प्रतिशत खर्च गरेको विवरण सार्वजनिक गरिएको छ । कैलाशले कुल विनियोजनमध्ये ४३ करोड ५५ लाख ३५ हजार अर्थात ८४ दशमलव ०४ प्रतिशत खर्च गर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले बताए ।
मकवानपुरका १० स्थानीय तहमध्ये प्रतिशतका हिसाबले सबैभन्दा बढी बजेट खर्च गर्नेमा मनहरी गाउँपालिका रहेको छ भने सबैभन्दा कम खर्च गर्नेमा भीमफेदी गाउँपालिका देखिएको छ । मनहरीले कुल विनियोजनको ८७ दशमलव ८५ प्रतिशत प्रगति हासिल गर्दा भीमफेदीको खर्च ६८ दशमलव ७१ प्रतिशतमै खुम्चिएको छ । भीमफेदीमा कुल ७५ करोड ६५ लाख ६३ हजार रुपैयाँको बजेट विनियोजन गरिएकोमा ५१ करोड ९८ लाख ६१ हजार रुपैयाँ मात्र खर्च भएको तथ्यांक छ । चालु खर्चतर्फ ३० करोड ७२ लाख ७३ हजार रुपैयाँ अर्थात विनियोजनको ७५ दशमलव ९१ प्रतिशत खर्च गरिएको छ भने पुँजीगत खर्चको अवस्था दयनीय छ । पुँजीगततर्फ विनियोजनको ३१ करोड २५ लाख ८७ हजार अर्थात ६० दशमलव ४३ प्रतिशत मात्र खर्च भएको गाउँपालिकाले जनाएको छ ।
मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती र बकैया गाउँपालिकाले पनि ८० प्रतिशतमाथि नै खर्च गर्न सफल भएका छन् । बागमती गाउँपालिकाले बितेको आवमा ६८ करोड ५५ लाख ८६ हजार रुपैयाँको बजेट कार्यान्वयन गरेकोमा कुल विनियोजनमध्ये ५७ करोड ४३ लाख ५६ हजार अर्थात ८३ दशमलव ७८ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकाले चालुतर्फ ३८ करोड ८३ लाख २७ हजार अर्थात विनियोजनको ८७ दशमलव २७ प्रतिशत प्रगति गरेकोमा पुँजीगततर्फ १८ करोड ६० लाख २८ हजार रुपैयाँ अर्थात विनियोजनको ७७ दशमलव ३२ प्रतिशत खर्च गरेको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।
बकैया गाउँपालिकाले पनि कुल विनियोजनको ८३ दशलव ९७ प्रतिशत खर्च गरेको छ । कुल ८१ करोड ७० लाख १४ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा ६८ करोड २४ लाख २१ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । चालुतर्फ ४८ करोड १९ लाख अर्थात विनियोजनको ८७ दशमलव ३९ प्रतिशत खर्च भएको छ भने पुँजीगततर्फ १९ करोड ५९ लाख ८५ हजार अर्थात विनियोजनको ७६ दशमलव ४८ प्रतिशत खर्च गरिएको छ ।
१० स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट परिचालन गर्ने हेटौंडा उपमहानगरपालिकाले पनि बितेको वर्षमा ८० प्रतिशतमाथि बजेट खर्च गर्न सफल भएको छ । बिगतको वर्षको तुलनामा उपमहानगरको बजेट खर्चको अवस्थामा सुधार आएको छ । आव २०८०/८१ मा कुल २ अर्ब ९२ करोड २९ लाख ६६ हजार बजेट विनियोजन गरेको हेटौंडामा २ अर्ब ३४ करोड ५१ लाख २२ हजार अर्थात कुल विनियोजनको ८० दशमलव २३ प्रतिशत खर्च भएको छ । चालुतर्फ एक अर्ब ४० करोड १३ लाख १४ हजार अर्थात ८४ दशमलव ७४ प्रतिशत खर्च भएको छ भने पुँजीगततर्फ ९३ करोड ३८ लाख ८६ हजार अर्थात विनियोजनको ७४ दशमलव १५ प्रतिशत खर्च भएको उपमहानगरपालिकाका सूचना अधिकृत भानुभक्त थपलियाले जानकारी दिए । वित्तीय व्यवस्थातर्फ एक करोड रुपैयाँ विनियोजन गरिएकोमा शत प्रतिशत खर्च भएको उनले बताए । उपमहानगरपालिकाले बितेको आर्थिक वर्षदेखि वडा कार्यालयहरुमै लेखा शाखाको स्थापना गरी भुक्तानी गर्ने व्यवस्था सुरु गरेकोले खर्चको अवस्थामा सुधार आएको उपमहानगरपालिकाका वरिष्ठ लेखा अधिकृत केशव हुमागाईंले बताए ।
उत्तरी मकवानपुरमा रहेको थाहा नगरपालिकाले पनि ८० प्रतिशतमाथि नै खर्च गर्न सफल भएको छ । थाहाले बितेको वर्ष एक अर्ब ३ करोड ७० लाख विनियोजन गरेकोमा ८३ करोड २४ लाख २१ हजार अर्थात कुल विनियोजनको ८० दशमलव २७ प्रतिशत खर्च गरेको तथ्यांक सार्वजनिक गरेको छ । नगरपालिकाले चालु्तर्फ ४७ करोड ३ लाख ४२ हजार अर्थात विनियोजनको ८९ दशमलव ४४ प्रतिशत र पुँजीगततर्फ ३६ करोड २० लाख ७९ हजार अर्थात विनियोजनको ८० दशमलव २७ प्रतिशत खर्च गरेको जनाएको छ ।
उत्तरी क्षेत्रमा रहेको जिल्लाकै सबैभन्दा सानो गाउँपालिका ईन्द्रसरोबरले पनि करिब ८० प्रतिशत हाराहारी खर्च गरेको देखिएको छ । कुल ४९ करोड २८ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा ३९ करोड ५ लाख ४१ हजार अर्थात कुल विनियोजनको ७९ दशमलव २१ प्रतिशत खर्च भएको गाउँपालिकाले जनाएको छ । चालुतर्फ २६ करोड ४३ लाख ३८ हजार अर्थात विनियोजनको ८५ दशमलव ०६ प्रतिशत र पुँजीगततर्फ १२ करोड ६३ लाख ३ हजार अर्थात विनियोजनको ६९ दशमलव २५ प्रतिशत खर्च भएको गाउँपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख सन्तोष बन्जाराले बताए ।
यसैगरी मकवानपुरगढी गाउँपालिकाले पनि ८० प्रतिशत माथि प्रगति गरेको छ । ७० करोड ५५ लाख ७६ हजार रुपैयाँको बजेट विनियोजन गरिएकोमा ५६ करोड ९७ लाख ६८ हजार अर्थात ८० दशमलव ७५ प्रतिशत खर्च भएको जनाइएको छ । चालुतर्फ ३२ करोड ५२ लाख ५९ हजार अर्थात विनियोजनको ८४ दशमलव ४ प्रतिशत र पुँजीगततर्फ २४ करोड ४५ लाख ९ हजार अर्थात विनियोजनको ७६ दशमलव ३६ प्रतिशत खर्च गर्न सफल भएको गाउँपालिकाका राजस्व, अनुगमन तथा योजना शाखा प्रमुख प्रकाश न्यौपानेले जानकारी दिए ।

