हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिकामा भूमिहीन अव्यवस्थित बसोबासीको जग्गा नापजाँच र प्रमाणीकरणको काम सुरु भएको छ ।
नेपाल सरकारले गत असोज २७ गते जारी गरेको भूमि तथा वन सम्बन्धी अध्यादेश र संघीय मन्त्रालयको परिपत्रका आधारमा गाउँपालिकाले बिहीबारबाट अव्यवस्थित बसोबासीको जग्गा नापजाँचका साथै निश्शा वितरण सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामीसहित जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा बिहीबार मनहरी ६ स्थित नयाँबस्तीका चन्द्रलाल थिङको जग्गा नापजाँच गरी निश्शा वितरणको काम सुरु गरिएको छ ।
मकवानपुरको सरिखेतमा गएको बाढीपहिरोबाट विस्थापित तथा सुकुम्बासी हुन पुगेका थिङले २०५९ सालदेखि नयाँबस्तीमा बसोबास तथा खेतीपाती गर्दै आएका थिए । लामो समयदेखि भोगचलन गरेको जग्गा नापी नभएको र कुनै जग्गाधनी निश्शासमेत नपाएर निराश बनिरहेका थिङलाई बिहीबार मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीसहितले जग्गा नापजाँच गराई निश्शा हस्तान्तरण गरेपछि भावुक हुँदै खुसी व्यक्त गरे । उनले स्थानीय जनप्रतिनिधिलाई धन्यवाद दिँदै चाँडै लालपूर्जासमेत प्राप्त हुने आशा व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले मकवानपुरको मनहरीस्थित ६ नम्बर वडामा सबैभन्दा बढी अव्यवस्थित बसोबासी रहेकाले यहि वडाबाटै जग्गा नापजाँच र प्रमाणीकरणको काम सुरु गरिएको बताए । जिल्ला नापी कार्यालय र गाउँपालिकाको अमिनसहितको टोलीले करिब २ महिनाभित्र गाउँपालिकाका सबै वडाका अव्यवस्थित भूमिहीनको जग्गा नापजाँच र प्रमाणीकरण सक्याउने अध्यक्ष कालाखेतीले बताए । ‘हामीले आज ६ र १ नम्बर वडाबाट एकसाथ जग्गा नापजाँचको काम सुरु गरेका छौँ । चाँडो काम सक्नका लागि ज्यालादारीमा अमिन राखेर काम अघि बढाउँदैछौँ ।’ उनले भने । व्यवस्थित र बिवादरहित ढंगबाट जग्गा नापजाँचमा सबैको सहयोग आवश्यक रहेको उनले बताए ।
गाउँपालिका उपाध्यक्ष सीता पुलामीले लामो समयदेखि बसोबास गरिरहेका अव्यवस्थित बसोबासी र भूमिहीनको जग्गा नापजाँच र प्रमाणीकरणको काम सुरु गर्नु सुखद भएको भन्दै कुनै पनि बिवाद बिना काम सम्पन्न गर्न सहयोग गर्न सबै पक्षलाई आग्रह गरिन् । मकवानपुरको मनहरी ६ नम्बर वडामा मात्र करिब २ हजारभन्दा बढी अव्यवस्थित बसोबासी रहेको अनुमान गरिएको वडाध्यक्ष युवराज थपलियाले जानकारी दिए ।
मकवानपुरको मनहरी गाउँपालिकाले २०७७÷०७८ मा भूमिहीन दलित, भूमिहीन सुुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गरेको थियो । हाल मनहरीमा भूमिहीन दलित एक सय एक परिवार, भूमिहीन सुकुम्बासी ७ सय २७ र अव्यवस्थित बसोबासी ७ हजार ७ सय २४ र पछि छुट दर्ता भएका २ सय परिवारसहित कुल ८ हजार ४ सय ५२ परिवार भूमिहीन रहेको गाउँपालिकाका योजना शाखा प्रमुख राजेन्द्र चौलागाईले जानकारी दिए ।
भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान गरिए पनि उनीहरुको जग्गा नापजाँच र निश्शा वितरण लगायतका कामका लागि यसअघि भूमि ऐन र वन ऐन बाधक बनेको थियो । यसअघिको वन ऐनमा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रको जग्गा नापजाँच र अन्य प्रक्रिया अघि बढाउन रोक लगाएको थियो । तर, नेपाल सरकारले गत असोज २७ गते अध्यादेशमार्फत ऐन जारी गर्दै उक्त बाधा फुकाएसँगै अव्यवस्थित बसोबासीको जग्गा नापजाँच र निश्शा वितरणको काम अघि बढेको हो ।
उनका अनुसार गाउँपालिकामा रहेका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको पहिचान र प्रमाणीकरणको लागि भूमि समस्या जिल्ला समितिमा पठाइएको छ । गाउँपालिकाले अहिले अव्यवस्थित बसोबासीको जग्गा नापजाँच र निश्शा वितरण गरी उनीहरुको तथ्यांक जिल्ला समितिमा पठाउने र थप प्रमाणीकरण गरी जिल्ला स्थित भूमि समस्या समितिले पछि लालपूर्जा वितरण गर्ने चौलागाईले बताए ।


