हेटाैंडा- हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । विभिन्न ५१ मध्ये ४६ वटा सूचक पूरा गरेकाे दावी गर्दै साउन १२ गते वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएकाे हाे ।
वडाध्यक्ष विष्णुगोपाल महर्जनका अनुसार नेपाल सरकारको मापदण्डको आधारमा आवश्यक ५१ वटा सूचकमध्ये ४६ वटा सतप्रतिशत, ३ वटा ९६ प्रतिशत, १ वटा ९५ प्रतिशत र अर्काे १ वटा ९० प्रतिशत पूरा भएको र एउटा सूचक २० प्रतिशतमा सीमित भइ जसलाई सुधार गर्न थप प्रयास भइरहेको छ ।
२ नम्बर वडामा १८ वर्षमुनिका १ हजार ८ सय ११ बालबालिका छन् । जसमा ५२.१३ प्रतिशत् (९ सय ४४) बालक र ४७.८७ प्रतिशत् (८ सय ६७) बालिका छन् । बालबालिकाको सक्रिय सहभागिताका लागि १९ वटा बालसमूह र १ वटा वडा बालसञ्जाल गठन गरिएको छ, जसमा ४ सय ६० बालबालिका आबद्ध छन् । विभिन्न संरचनागत् समितिमा थप २५ जनासहित कुल ४ सय ८५ बालबालिकाको प्रत्यक्ष सहभागिता छ ।
१२ गते हेटाैंडा उपमहानगरपालिका प्राङ्गणबाट प्रभातफेरीसहित वडा परिक्रमा गरी हाेटल एभाेकाडाेमा पुगी बालमैत्री घाेषणा गर्ने कार्यक्रम तय गरिएकाे छ ।

