हेटाैैंडा- नेपालमा बालबालिकाको अनलाइन सुरक्षा र अधिकार संरक्षणबारे बालबालिकाको दृष्टिकोणबाट तयार गरिएको स्थितिपत्र सार्वजनिक गरिएको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका बालबालिकाले तयार पारेका उक्त पत्र शुक्रबार सिविन बाल हेल्पलाइनले आयोजना गरेको कार्यक्रम मार्फत प्रस्तुत गरेका हुन् ।
उक्त बालबालिकाले तयार परेका स्थितिपत्र सम्बन्धित सरकारी निकाय समक्ष बुझाएका थिए ।
बालबालिकाको दृष्टिकोणबाट तयार गरिएको स्थितिपत्रमा बालबालिकाले भविष्यमा के हेर्न चाहन्छ, सरकार र ईन्टरनेट सेवा प्रदायकहरुलाई सुझाव र नेपालमा बालबालिकाको अनलाइन सुरक्षाको वर्तमान स्थिति बारे प्रस्तुत गरिएको थियो।
सिविन नेपालका केन्द्रीय अध्यक्ष माधव प्रधानको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका आन्तरिक तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा उपस्थित विद्यार्थीहरुले आफ्नो जिज्ञासासमेत राखेका थिए।
साइबर तथा अनलाइनमा मात्र नभई सबै क्षेत्रमा बालबालिका जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी उपरीक्षक सिताराम रिजालकाे भनाइ थियाे।
बालबालिकालाई ध्यानमा राख्दै जनचेतनामुलक कार्यक्रमहरु समेत गर्दै आइरहेको उनले बताए ।
महिला,बालबालिका र जेष्ठ नागरिक विषयमा नेपाल प्रहरी प्रष्ट रहेको सुझाउँदै देश नै साइबर अपराधको चपेटामा रहेको बताए। इमेल र ईन्टरनेट सहि तरिकाले चलाउन बालबालिकामा अनुरोधसमेत गरे।
हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाबाट २० वटा बिद्यालयका कक्षा ८ देखि १२ सम्मका २० जना विद्यार्थीको सहभागिता रहेको थियो।
कार्यक्रममा बागमती प्रदेश उपरीक्षक दुर्गाराज रेग्मी,मकवानपुर जिल्ला न्यायाधिवक्ता राजन अमाद, प्रदेश नीति तथा योजना आयोगका उपसचिव वासुदेव खतिवडा, सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख अमृत अधिकारी, मानव अधिकार आयोग बागमती प्रदेश निर्देशक पवन कुमार भट्ट, जिल्ला समन्वय समिति मकवानपुर समन्वय अधिकारी शान्ति विश्वकर्मा, शिक्षा विकास तथा इकाई समन्वय प्रमुख सुदिप गिरी, गैसस मकवानपुर अध्यक्ष रमिला सापकोटा लगायत सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिकाे उपस्थिति रहेको थियो ।

