हेटौंडा – पछिल्लो समय मकवानपुरमा लागुऔषध प्रयोगकताको संख्या बढ्दै गएको छ । लागुऔषध प्रयोगकर्ता पुरुष बढी हुन्थे भने पछिल्लो समय महिला पनि लागुऔषधको दलदलमा पुरुषसरह नै फसिरहेका छन् ।
मकवानपुरमा पछिल्लो समय महिलाहरु पनि लागुऔषधमा फसेर नियन्त्रणबाहिर गएपछि लागुऔषधको विकराल अवस्थालाई मध्यनजर गर्दै हेटौंडा-९, लामसुरेहाइटमा महिला लागुऔषध तथा मादकपदार्थ पुनस्र्थापना गृह सञ्चालनमा ल्याइएको छ । मकवानपुरमा लागुऔषध प्रयोगकर्ता सुधारगृह थुप्रै छन् । तर, महिला सुधारगृह नहुँदा अन्यत्र लैजानुपर्ने अवस्था थियो । मकवानपुरमा महिला लागुऔषध प्रयोगकर्ताको अवस्थालाई मध्यनजर गर्दै केही समयअघि पहिलो पटक महिला सुधारगृह सञ्चालनमा ल्याइएको छ ।
पुरुषमा धेरै लागुऔषध समस्या देखिएकाले पुरुष पुनस्र्थापना कार्य गरिरहेको अवस्थामा हाल महिला लागुऔषध प्रयोगकर्ताको समस्या पनि विकरालरुपमा बढिरहेको देखिएकाले हालै महिला पुनस्र्थापना केन्द्र सञ्चालनमा ल्याइएको संयोजक तान्या अग्रवालले जानकारी दिइन् ।
मकवानपुरमा यस विषयमा महिला विज्ञता कम रहेको र चुनौती पनि रहेको अवस्थामा हामीले युवतीहरुको सकारात्मक जीवनका लागि अवसर सिर्जना गर्ने उद्धेश्य राखेका छौं,’ अग्रवालले भनिन् । महिला पुनस्र्थापना केन्द्रमा २ जना पूर्वलागुऔषध प्रयोगकर्ता छन् । हेरचाहका लागि महिलालाई महिला नै आवश्यक पर्ने भएकाले २ महिला परामर्शदाता, १ महिला चिकित्सकको व्यवस्था गरेका छौं,’ उनले भनिन् ।
सरकारी मापदण्डअनुरुप केन्द्र व्यवस्थापन र सञ्चालन प्रमुख प्राथमिकता रहेको र त्यसअनुरुप व्यवस्थापन र विभिन्न निकायसंग समन्वय गरिरहेका उनले बताइन् । हाल १५ जना क्षमताको महिला सुधारगृह रहेको र क्षमता वृद्धि गरी ३० जना राख्न सकिने उनको भनाइ छ । विशेषतयः मनोपरामर्श, हेरचाह, योग, ध्यान, आध्यत्मिक जागरण, खेलकुद, परिवारको महत्व र सामाजिकीकरणयुक्त बनाउन हाम्रा दैनिक कक्षाहरु व्यवस्था गरिएको छ,’ उनले भनिन् । निकट भविष्यमा यसलाई थप व्यवस्थित गर्दै उपचारको पहुँच र चेतना वृद्धि गर्दै अघि बढ्ने योजना रहेको उनले बताइन् । मकवानपुरआसपास चितवनमा १ र काठमाडौंमा महिला सुधारगृह रहेको हुँदा आफ्नै जिल्लामा महिलालाई व्यवस्थित वातावरण दिने लक्ष्य रहेको उनको भनाइ छ ।
गृह मन्त्रालयको २०७६ सालको सर्वेक्षणअनुसार वागमती प्रदेशमा महिला प्रयोगकर्ताको संख्या ५ हजार ६ सय २५ जना रहेकोमध्ये सबभन्दा बढी काठमाडौं र मकवानपुरमा रहेको तथ्यांक सुरक्षित जीवन नामक गृह मन्त्रालयको वार्षिक पुस्तिकामा रहेको उनको भनाइ छ ।
यस वर्ष नेपाल सरकार गृह मन्त्रालयद्वारा ॅलागुऔषध दुरुपयोगविरुद्ध लडौं, रोकथाममा जोड दिऔं’ नारा भए पनि प्रदेश र स्थानीय तहबाट नाराअनुरुप रोकथाममा लगानी प्रभावकारीरुपले नगरेको हुँदा समस्या घट्नुको साटो वार्षिक ५.०४ प्रतिशत्ले वृद्धि भइरहेको अग्रवालले दाबी गरिन् । सोही स्थानमा सिआन पुनस्र्थापना केन्द्रले २०७३ सालदेखि लागुऔषध तथा मादकपदार्थ पुनस्र्थापना, क्षति न्यूनीकरण, सचेतना, उपचार, परामर्श र गुणस्तरीय चिकित्सकीय सेवा प्रदान गर्दै आएको छ ।
नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण, २०७६ का अनुसार नेपालमा एक लाख ३० हजार चार सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेको देखिन्छ । यसअघि २०६९ मा गरिएको सर्वेक्षणमा ९१ हजार पाँच सय ३४ जना लागुऔषध प्रयोगकर्ता थिए । प्रतिवेदनअनुसार लागुऔषध प्रयोगकर्ताको संख्यामा वार्षिकरुपमा वृद्धि भएको देखिन्छ ।

