हेटौंडा – बजार अनुगमन नियमित हुनुपर्ने हो । तर, जनशक्ति अभाव र अन्य कारणले हेटौंडामा बजार अनुगमन नियमित छैन । जब ठूला चाडपर्व नजिकिन्छन्, अनिमात्र अनुगमनकारीहरु जुर्मुराउछन । आइतबार हेटौंडाको एक क्याफेले एक लिटर पानी ५० रुपैयाँमा बिक्री गरेको भन्दै अनुगमनकर्ता टोलीले २० हजार जरिवाना गरेको थियो ।
सरकारी निकायको यही शैली’ मा व्यापारीहरुले प्रश्न उठाउने गरेका छन् । चाडपर्वलक्षित अनुगमन’ कर्मचारीहरुका लागि कमाउने मेलो बनेको उनीहरुको आरोप छ । अनुगमन जायज भए पनि तरिका र समय नमिलेको व्यवसायी बताउँछन् । व्यापारीले जनतालाई सेवा दिइरहेको कुरा बिर्सेर तर्साउने नीतिबाट अनुगमन हुने गरेको उनीहरुको भनाइ छ ।
व्यापारीले परल मूल्य एक सय तिरेको सामान भन्सारमा ५० रुपैयाँ परेको भनेर लेख्न लगाइन्छ । भन्सारको किताबमा ५० रुपैयाँ तरल लेखेको वस्तु सरकारले २ सय ५० मा बेच भन्छ । जबकि, एक रुपैयाँ पनि नाफा हुँदैन । व्यापारीले कानुनले दिएको २० प्रतिशत् नाफा राखेर बेच्यो भने अनुगमनका नाममा कालोबजारी ऐन लगाएर थुनिन्छ । यो गलत छ,’ उनीहरुले भने ।
व्यापारीलाई अनावश्यक दुःख दिने कालोबजारी ऐन परिमार्जन गर्नुपर्ने उनीहरुको जोड छ । बजार अनुगमनलाई जनचेतनाका रुपमा विकास गर्न पनि सरकारले पहल गर्नुपर्ने उनीहरुको सुझाव छ । व्यापारीहरुलाई चोरको नजरले सरकारले हेर्न थालेकाले प्रतिरोधको अवस्था सिर्जना हुने गरेको उनीहरु बताउँछन् । अवस्य नै अनुगमन गरिनुपर्छ । तर, अनुगमन गर्नुपूर्व व्यवसायीका विभिन्न छाता संस्थास“ग सरकारी निकायले समन्वय गरुन्,’ उनीहरुले भने । जतिबेला पनि चोर, लुटेराको नजरले व्यवसायीलाई हेरिएको भन्दै उनीहरुले एकपटक व्यापारी भएर पनि सोच्न सरकारी निकायलाई आग्रह गरे ।
ॅआकाशिदो बैंकको ब्याजदर, सटर तथा घरभाडा, भन्सारको उल्झन, कसरी काम गर्छ एउटा व्यापारीले ? कसरी कमाउन सकिन्छ पैसा ?,’ नाम नबताउने एक व्यवसायीले भने । केही कमाइ हुने चाडपर्वको बेलासमेत सरकारी निकाय तर्साउन आउनाले व्यापारी आहत बन्ने गरेको उनले बताए ।
चाडपर्वको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले उद्योग वाणिज्य संघ र उपभोक्ताकर्मीस“ग सम्वद्ध सम्पूर्ण निकाय र खाद्यप्रविधि गुणस्तर कार्यालय, वाणिज्य कार्यालयलगायतले अनुगमनबारे छलफल भइ बजार अनुगमन सुरु गरेको प्रमुख जिल्ला अधिकारी तीर्थ चिलुवालले बताए ।
बजारमा स्वच्छ र ताजा खाद्यवस्तुहरु कसरी वितरण गर्न सकिन्छ भन्ने सन्दर्भमा जिल्लाले अनुगमन सुरु गरेको हो । स्वस्थ्य बजार हुनका लागि उद्योग वाणिज्य संघबाट प्रचारप्रसारसमेत गरिएको छ,’ उनले भने । अखाद्य वस्तु, उपभोग्य मिति सकिएको वस्तुलाई नियन्त्रण गर्न बजार अनुगमन गर्नु आवश्यक भएको उनको भनाइ छ । बजारमा अखाद्य वस्तु र उपभोग्य मिति सकिएको वस्तु बिक्रीवितरण गरिएको पाइए त्यस्ता व्यापारीहरुलाई कानुनअनुसार कारबाही हुने गरेको उनले बताए ।
गोदाम, किराना पसल, पेयपदार्थ किनबेच हुने स्थानहरुमा अनुगमन गरिएको छ । बजारमा उपभोग्य मिति सकिएका प्रायः खाद्यान्न, पेयपदार्थहरु भेटिएका छन् । त्यस्ता वस्तुहरु भेट्नेबित्तिकै अनुगमन टोलीले नष्ट गर्ने गरेको उनले बताए । नियमविपरीत भए व्यवसायीलाई तत्काल कम्तिमा ५ हजार र घनत्व, प्रविधि र गुणस्तर हेरेर ३ लाखसम्म जरिवाना गर्ने गरेका छौं,’ उनले भने । प्रायः जसो ठूला होटल, होलसेल पसलमा बढी अखाद्य वस्तु भेटिने गरेको उनले बताए ।
अन्य समयमा पनि बजार अनुगमन गर्ने गरिएको छ भने चाडपर्वमा बढी सामान बिक्रीवितरण हुने भएकाले उपभोक्ताले गुणस्तरहीन सामान बिक्री नगरुन् भन्ने उद्धेश्यले चाडपर्वमा बढी सक्रिय हुने गरेको प्रजिअ चिलुवालको भनाइ छ । अनुगमन वर्षैभरि भएका छन् । अलि बढी चासो दशैंमा भएको मात्र हो,’ उनले भने ।
सरकारी निकाय नापतौल, खाद्य गुणस्तर, औषधी व्यवस्था, पशु विभाग र वाणिज्यले गर्ने अनुगमन कानुनको पालना र उपभोक्ताको हितका लागिमात्र भएको दाबी गर्छ । व्यापारीहरुमा सबभन्दा ठूलो समस्या न्यून बिजक र भ्याट छली रहेको भन्दै उसले ठगी गर्न पल्केकाहरु अनुगमनसंग तर्सिएको उल्लेख गरेको छ ।
कम भन्सार तिर्नका लागि कम विजक बताउँछन् र अनुगमन गर्दा परल बिलअनुसार मूल्यसूची हुनुपर्ने अनिवार्यताले उनीहरु आत्तिन्छन्,’ एक सरकारी अधिकारीले भने । व्यवसायी आफू इमान्दार भए अनुगमनसंग डराउनु नपर्ने उनको भनाइ छ । व्यवसायीको सामान्य धम्कीकै भरमा अनुगमन प्रभावित नहुने पनि उनले स्पष्ट पारे । व्यवसायी इमान्दार हुनूस्, कानुनले तपाईंहरुको नाफा सुनिश्चित गरेको छ । अन्यथा, कानुनअनुसार हामी चल्छौं,’ उनले स्पष्ट भने । दशैंमा मात्र अनुगमन हुन्छ भन्ने बुझाइ गलत भएको पनि उनले बताए ।
के भन्छ कानुन ?
उपभोक्ता संरक्षण ऐन, २०७५ ले केन्द्र, प्रदेश र स्थानीय तहले बजार अनुगमन गर्नसक्ने व्यवस्था गरेको छ । ऐनको दफा २५ मा सबै अनुगमनलाई समन्वय गर्ने गरी केन्द्रीय अनुगमन समिति रहने उल्लेख छ । यस समितिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव संयोजक रहन्छन् भने भने कृषि तथा पशुपक्षी र भूमि तथा सहकारी मन्त्रालयका सचिवसहति ६ सहसचिव समिति सदस्य रहनेछन् । बजार अनुगमनलाई वर्षैभरि नियमित गराइ उपभोक्ता हित संरक्षण गर्नु समितिको कर्तव्य हुने ऐनमा उल्लेख छ ।
ऐनको दफा ३०, ३१ र ३२ ले बजार अनुगमन किन गर्ने भन्ने ब्याख्या गरेको छ । कसैले अनुचित व्यापारिक क्रियाकलाप, बजारमा एकाधिकार, वस्तु वा सेवाको मूल्य वा आपूर्ति व्यवस्थालाई प्रभावित पार्ने काम, कमसल वस्तु उत्पादन वा बिक्री वितरण गरिरहेको जस्तो अवस्था पाइने अनुगमन जरुरी हुने ऐनमा उल्लेख छ । ऐनअनुसार बजार निगरानी गर्ने निकायमार्फत् सूचना आएमा मन्त्रालय वा विभागले सो सम्बन्धमा तत्काल आवश्यक जा“चबुझ वा निरीक्षण गर्न गराउन सक्छन् ।
उपदफा ३ ले जा“चबुझ वा निरीक्षणबाट दोषी देखिएका उत्पादक, डिलर, एजेण्ट, बिक्रेता, व्यक्ति वा संस्थालाई यस ऐन वा प्रचलित कानुनबमोजिम कारबाही गर्ने व्यवस्था गरेको छ । दफा ३१ ले आकस्मिक निरीक्षण गर्नसक्ने व्यवस्थामा उपभोक्ताको हक, हित संरक्षणका लागि बजारको आकस्मिक निरीक्षण गर्न सक्ने उल्लेख गरेको छ । ऐनको परिच्छेद ४ ले निषेधित कामहरु भने व्यवसायी वा व्यापारीले के गर्न हु“दैन भन्ने उल्लेख गरेको छ । ऐनले निषेधित गरेको काम गरे अनुगमनमार्फत् जुनसुकै बेला कारबाही गर्न सकिने उल्लेख छ ।

