हेटौंडा । हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग गर्दै चलाइएको हस्ताक्षर संकलन अभियानको समापन भएको छ।
हेटौँडा अस्पताललाई पूर्ण रूपमा सरकारी अस्पतालकै रूपमा सञ्चालन गर्नुपर्ने माग गर्दै हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियानले ७ दिन अस्पतालपरिसरमा चलाएको नागरिक हस्ताक्षर अभियानको आज सोमबार समापन भएको हो।
हेटौँडा अस्पताल जोगाउन चलाइएको हस्ताक्षर अभियानमा ४ हजार भन्दा बढीले हस्ताक्षर गरेर समर्थन जनाएको अभियानका संयोजक विशालराज महतले जानकारी दिए।
आफूहरू विगत लामोसमय देखि नै अभियानमा लागेको जानकारी दिदै हस्ताक्षर अभियानमा भएका हस्ताक्षर केही किनमा प्रदेश मुख्यमन्त्रीलाई र सिडियो मार्फत गृह मन्त्रालयलाई बुझाउने कार्यक्रम रहेको संयोजक महतले जानकारी दिए।
उनले हेटौँडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा अलग स्थानमा अलग पहिचानसहितको आमजनताको पहुँचमा स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने, हेटौँडा अस्पतालको ६६ वर्षदेखिको सेवा इतिहासलाई कायम राख्न, संविधान प्रदत्त सेवा प्राप्त गर्न पाउने मौलिक हकको कार्यान्वयन गराउनुपर्ने आफूहरूको माग गर्दै हस्ताक्षर अभियान चलाएको र माग पूरा नभएसम्म विभिन्न अभियान चलिरहनेसमेत जानकारी दिए।
हेटौँडा अस्पतालको स्वामित्व प्रतिष्ठानमा जाने गरी निर्माण गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ खारेज हुनुपर्नेलगायतका विषयमा सरोकारवाला निकायलाई दबाब दिने उद्देश्यले हस्ताक्षर अभियान चलाइएको उनको भनाइ छ।
हस्ताक्षर अभियानमा सबैको सहयोग र साथ मिलेको भन्दै धन्यवाद समेत व्यक्त गरे।

