हेटौँडा । लैङ्गिक हिंसा अन्त्य, पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्याय सुनिश्चित गर्ने उद्देश्यसहित मकवानपुरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरिएको छ।
मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धको सञ्जाल मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिकाको समन्वय तथा इन्सेक बागमती प्रदेशलगायत विभिन्न संघसंस्थाको सहकार्यमा बुधबार अभियानको सुरुवात गरिएको हो। अभियान आगामी १६ दिनसम्म सञ्चालन हुनेछ।
सञ्जालकी अध्यक्ष आरती पाठकको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।
कार्यक्रममा नगरप्रमुख लामाले पछिल्लो समय लैङ्गिक हिंसाका स्वरूप परिवर्तन हुँदै गएको बताउँदै डिजिटल माध्यमबाट हुने हिंसा डरलाग्दो बन्दै गएको उल्लेख गरिन्। यस्ता अभियानले व्यक्ति र समुदायलाई हिंसाविरुद्ध सचेत बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो। नगरपालिकाले पनि हिंसा अन्त्यका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिइन्।
सञ्जालकी अध्यक्ष पाठकले हिंसा महिला वा पुरुषमा मात्र सीमित नभई समग्र मानव समुदायसँग जोडिएको विषय भएको बताइन्। सबै प्रकारका हिंसा अन्त्य गर्दै समानता र सुरक्षित समाज निर्माणका लागि अभियान सञ्चालन गरिएको उनको भनाइ थियो।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले अझै पनि ५८ प्रतिशत हिंसापीडितले आफूले भोगेको हिंसा बाहिर नल्याई सहेर बस्ने गरेको बताए। हिंसाका घटना लुकाएर राख्ने प्रवृत्तिले समस्या थप जटिल बनाउने उल्लेख गर्दै यस्ता अभियानले जनचेतना फैलाउनुका साथै हिंसाविरुद्ध निरन्तर खबरदारी गर्नुपर्नेमा उनले जोड दिए।
हेटौँडा अस्पतालस्थित एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी की प्रमुख अमृता श्रेष्ठले मकवानपुरमा लैङ्गिक हिंसाको अवस्था, कारण तथा समाधानका उपायबारे प्रस्तुतीकरण गरेकी थिइन्। उनले गरिबी, बेरोजगारी, अशिक्षा, चेतनाको कमी, साथीभाइको प्रभाव तथा धार्मिक र सांस्कृतिक मान्यतालाई लैङ्गिक हिंसाका प्रमुख कारणका रूपमा औँल्याइन्।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–११ की वडाध्यक्ष जुना दाहाल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सत्यदेवी अधिकारी, बालकल्याण अधिकारी बिना थिङ, परिवार नियोजन संघका अध्यक्ष फुलमान श्रेष्ठ, गैरसरकारी संस्था महासंघकी अध्यक्ष रमिला सापकोटालगायतको सहभागिता थियो।
कार्यक्रममा मकवानपुरका २० जना हिंसा प्रभावितको समेत उपस्थिति रहेको थियो।
माइती नेपाल मकवानपुरकी संयोजक माया लामाले सञ्चालन गरेको कार्यक्रममा हिमराइट्स मकवानपुरकी संयोजक कुमारी वाइबाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।

