हेटौँडा । अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धि, सशक्तीकरण तथा अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार र स्थानीय तहले बजेट तथा कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल बागमती प्रदेशको आयोजनामा मंगलबार हेटौँडामा आयोजित अपाङ्गता भएका व्यक्तिका संस्था तथा सरोकारवालाबीचको एकदिने प्रदेशस्तरीय सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रममा सहभागीहरूले यस्तो धारणा राखेका हुन्।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले अपाङ्गता भएका व्यक्तिको क्षमता विकास, सशक्तीकरण र अधिकार सुनिश्चितताका क्षेत्रमा महासङ्घले गर्दै आएका कामको प्रशंसा गरे। यस्ता कार्यक्रमले अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धि, अभिमुखीकरण र सामाजिक सहभागिता बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख नारायणप्रसाद सिढाईंले अपाङ्गता भएका व्यक्तिको सशक्तीकरणका लागि नगरपालिकाले गर्दै आएका कामबारे जानकारी गराए। नगरपालिकाले सीप विकास तथा आयआर्जनका कार्यक्रममा सहयोग गर्दै आएको उल्लेख गर्दै उनले महिलाको आयआर्जनका लागि प्रत्येक वर्ष एक करोड रुपैयाँ बजेट विनियोजन गर्ने गरेको बताए।
हेटौँडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सत्यदेवी अधिकारीले अपाङ्गता क्षेत्रका लागि पर्याप्त बजेट व्यवस्थापन हुन नसकेको स्वीकार गर्दै आगामी आर्थिक वर्षमा बजेट विनियोजनका लागि पहल गर्ने बताइन्।
गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा गैरसरकारी संस्थाले सहकार्य गर्दै आएको जानकारी दिइन्। उद्योग तथा पर्यटन मन्त्रालयका योजना अधिकृत अशेष खड्काले मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको र आगामी दिनका लागि पनि बजेट छुट्याइएको बताए।
स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका सचिव खुविराम अधिकारीले प्रदेश तहमा अपाङ्गता क्षेत्रमा भएका असल अभ्यास, प्रादेशिक अपाङ्गता नीति २०८३ तथा आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन गरिने कार्यक्रमबारे प्रस्तुतीकरण गरेका थिए। उनले आगामी योजना, उद्देश्य र नीतिगत रणनीतिका विषयमा समेत जानकारी गराए।
महासंघकी प्रदेश संयोजक सीता मल्ल ठकुरीले संस्थाको परिचय, नीति तथा बजेटका क्षेत्रमा भएका उपलब्धि र बागमती प्रदेशमा अपाङ्गता भएका व्यक्तिको अवस्थाबारे जानकारी गराइन्। महासंघमा देशभरका ७७ जिल्लाबाट सात सय सदस्य आबद्ध रहेको उनले बताइन्।
कार्यक्रममा विभिन्न पालिकाका अटिजम केयर सेन्टरका प्रतिनिधि, अपाङ्गता भएका व्यक्तिका संस्था तथा अन्य सरोकारवालाहरूको सहभागिता थियो। सहभागीहरूले अपाङ्गता भएका व्यक्तिको हकहित, सेवा तथा सुविधामा पहुँच, क्षमता अभिवृद्धि र सामाजिक सहभागिता विस्तारका विषयमा अनुभव आदानप्रदान गरेका थिए।


