हेटौँडा । हेटौँडा उपमहानगरपालिका–५ पिप्ले चोक नजिकै रहेको द डोर होटलमा आगलागी हुँदा ४३ लाख रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको छ।
मंगलबार राति करिब ११ः३० बजे होटलको भान्साकोठा र हलमा आगलागी भएको हो। प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा बुधबार बिहान १२ः२० बजे आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
आगो निभाउने क्रममा होटल सञ्चालक २९ वर्षीय आशिष गौतम र दमकलका कर्मचारी ३५ वर्षीय नवीन नेपालको हात सामान्य रूपमा जलेको छ। दुवै जनाको स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ। घटनामा अन्य मानवीय क्षति भएको छैन।
आगलागीबाट होटलको भान्साकोठा र हलमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्। होटल सञ्चालकका अनुसार घटनामा करिब ४३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
आगलागीको यकिन कारण खुल्न नसकेको र प्रारम्भिक अनुमानअनुसार विद्युत तार सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीले जनाएको छ।

