Search
Close this search box.

भीमफेदी दुर्घटना प्रतिवेदन ; चालकको थकान र क्षमताभन्दा बढी यात्रु सम्भावित कारण

मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको विद्युतीय सवारी दुर्घटनामा चालकको थकान, पर्याप्त विश्रामको अभाव, क्षमताभन्दा बढी यात्रु र सडकको भौगोलिक बनावटलाई सम्भावित कारणका रूपमा औँल्याइएको छ ।
दुर्घटनाको छानबिन गर्न गठित समितिले चालकलाई मात्र दोषी ठहर गर्न नहुने निष्कर्ष निकाल्दै सडक पूर्वाधार, सवारीसाधनको प्राविधिक अवस्था, यातायात व्यवस्थापन र नियामक निकायको भूमिकामाथि समेत प्रश्न उठाएको छ ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले सोमबार प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई प्रतिवेदन बुझाएको हो । समितिले दुर्घटनास्थलको अवस्था, चालकको कार्यतालिका, यात्रुको संख्या, सवारीसाधनको प्राविधिक अवस्था र सडक सुरक्षासम्बन्धी पक्षको अध्ययन गरी प्रतिवेदन तयार पारेको जनाएको छ ।
प्रतिवेदनमा लगातार लामो समयसम्म सवारी चलाउँदा चालकको एकाग्रता, निर्णय क्षमता र तत्काल प्रतिक्रिया जनाउने क्षमतामा ह्रास आउन सक्ने उल्लेख छ । पर्याप्त आराम नपाउँदा बढ्ने शारीरिक तथा मानसिक थकानले दुर्घटनाको जोखिम बढाउने समितिको विश्लेषण छ ।
समितिका संयोजक पौडेलले चालकको कार्यअवधि र विश्रामको समय व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँका अनुसार दुर्घटना न्यूनीकरणका लागि चालकको व्यवहारसँगै सवारीसाधनको अवस्था, सडक संरचना र यातायात व्यवस्थापन प्रणालीमा देखिएका कमजोरीसमेत सुधार गर्न आवश्यक छ ।
समितिले सार्वजनिक यातायातमा तोकिएको क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति नियन्त्रण गर्न, लामो दूरीका चालकलाई पर्याप्त विश्रामको व्यवस्था गर्न र सवारीसाधनको नियमित प्राविधिक परीक्षण अनिवार्य गराउन सुझाव दिएको छ ।
त्यस्तै,भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डको समग्र सडक सुरक्षा परीक्षण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । सडकको बनावट, जोखिमपूर्ण घुम्ती, ढलान, सतह, निर्माण गुणस्तर, सञ्चालन अवस्था र मर्मतसम्भारको विस्तृत अध्ययन गरी आवश्यक सुधार गर्न समितिले सिफारिस गरेको छ ।
सवारीसाधनको मर्मतसम्भार, चालकको कार्यअवधि र यात्रु व्यवस्थापनमा यातायात व्यवसायी तथा सवारीधनीलाई समेत जवाफदेही बनाउने कानुनी व्यवस्था आवश्यक रहेको समितिको ठहर छ । दुर्घटनापछि पीडित तथा प्रभावित परिवारले पाउने बीमा, क्षतिपूर्ति र राहत वितरण प्रणालीलाई प्रभावकारी बनाउन पनि सुझाव दिइएको छ ।
यसैगरी, सडक सुरक्षा परीक्षणबाट पहिचान भएका जोखिमपूर्ण स्थानमा तत्काल सुधार गर्न र दुर्घटना अनुसन्धान प्रणालीलाई संस्थागत तथा व्यवस्थित बनाउन समितिले सिफारिस गरेको संयोजक पौडेलले जानकारी दिनुभयो ।
गत कात्तिक २६ गते काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक विद्युतीय सवारी भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा दुर्घटनामा परेको थियो । सडकबाट करिब पाँच सयदेखि सात सय मिटर तल खसेको उक्त दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan