हेटौंडा–राक्सिराङ गाउँपालिका–९, खैराङकी ७० वर्षीया टुलकुमारी प्रजा पहिलोपटक घरमा बत्ती बाल्न पाउँदा खुशीले गदगद छिन् । खैराङमा जन्मेकी टुलकुमारी भन्छिन्–‘केही समय अघिसम्म टुकीमै रात बित्थ्यो । बत्ती नै आउँदा हर्षित छु । अब चाहिएन टुकी ।’
राक्सिराङ गाउँपालिका–९ अठारेकै २० वर्षीय रविसिंह ठकुरी भन्छन्–‘बिजुली नदेखेरै १० कक्षा पास गरेँ ।’ उनी भन्छन्–‘टुकी बालेर पढेर १० कक्षा पास गरें । मोबाइलको पसल राखेको छु । लाइन नहुदा आफूले जानेको सिप पनि देखाउन पाएको थिइन् । बत्ती आएपछि गाउँमै केही गर्न सक्छु भन्ने आँट आएको छ । २÷४ वर्षअगाडि यसरी बत्ती आइदिएको भए अझै अपडेट भइन्थ्यो कि ।’
मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको सबै वडामा बिजुली पुगेपछि स्थानीय हर्षित छन् । ‘चेपाङलाई बिजुली’ कार्यक्रमअन्तर्गत् तीव्र रुपमा विद्युतीकरण गरी राक्सिराङ गाउँपालिकालाई पूर्ण विद्युतीकरण घोषणा गरिएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार एक कार्यक्रमकाबीच पूर्ण विद्युतीकरण घोषणा गरेका हु्न् ।
निर्देशक कुलमान घिसिङले सोमबार राक्सिराङ गाउँपालिका–९, खैराङमा रहेको ट्रान्समिटरको स्वीच अन गरेर खैराङका बस्तीलाई झलमल्ल बनाएसँगै राक्सिराङका सबै वडालाई पूर्ण विद्युतीकरणयुक्त घोषणा गरिएको हो । उनले खैराङकी फूलमाया चेपाङको घरको विद्युत्को मिटर पनि अन गरेर विद्युतीकरणयुक्त पालिका घोषणा गरेका थिए ।
निर्देशक घिसिङले खैराङ पुगेर पहिलो पटक उक्त वडामा बिजुली बालेका हुन् । कार्यक्रममा घिसिङले उक्त वडालाई थप बजेट आवश्यक परे प्राधिकरणले व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । गाउँमा टुकी बालेर पढेको स्मरण गर्दै बत्ती पु¥याएर उज्यालो दिनु सबभन्दा महत्वपूर्ण भएको बताए । देशभर सबै घरमा बत्ती पु¥याउने र निःशुल्क मिटर वितरणको कामसमेत गरिएको उनले बताए । लाखौं जनतालाई निःशुल्क मिटर वितरण गरिएको सुनाउँदै उनले आवश्यक परे प्राधिकरण अझै सहयोगका लागि तयार भएको बताए । अब इन्डक्सन बालेर ग्यास प्रयोग कम गर्न उनले आग्रह गरे । उक्त स्थानमा बत्ती आएसंगै दीगो विकासका लागि शिक्षालाई प्राथमिकता दिन उनको आग्रह छ ।

आफूले प्राधिकरणको नेतृत्व लिँदा देशभर ५८ प्रतिशत् नागरिकमा विद्युत्को पहुँच पुगेको र हाल ९९ प्रतिशत् नागरिकमा विद्युत्को पहुँच पुगेको भन्दै घिसिङले खुस् व्यक्त गरे । निर्देशक घिसिङले कार्यक्रमकैबीच ३ सय ३ वटा विद्युत् मिटर उक्त वडाका विपन्न चेपाङलाई निःशुल्क वितरण गरेका थिए । २०७८ को जनगणनाअनुसार २५ हजार ९ सय ९६ जनसंख्या रहेको उक्त पालिकामा ५ हजार ४४ घरधुरी छन् ।
राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँ पालिकाका केही स्थानमा अझ बिजुली पु¥याउन नसकिएको बताए । पोल नपुगेका कारण बिजुली लैजान समस्या भएको भन्दै उनले पालिकाले एक करोड रुपैयाँ र पछि प्रदेश सरकारले एक करोड थप गरी प्राधिकरणको सहयोगमा ६ करोडले वडाहरुमा बत्ती पु¥याउन विद्युत् पोल गाड्ने र तार तान्ने काम गरिरहेको बताए ।
मकवानपुरको दुर्गम खैराङमा आव २०७६÷०७७ देखि ‘चेपाङलाई बिजुली’ कार्यक्रम अघि बढाइएको थियो । पालिकाले आफ्नै स्रोतसाधनले धिमा गतिमा विद्युत् पोल गाड्ने र तार तान्ने काम गरिरहेको थियो । जब प्राधिकरणका निर्देशक घिसिङले उक्त अभियानलाई साथ दिए, तब खैराङलगायत राक्सिराङ गाउँपालिकाका वडामा विद्युत्को पहुँच पुगेको हो ।
यो समाचार तयार गर्दासम्म सरकारले प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई हटाइसकेको छ ।

