हेटौंडा।हेटौंडा अस्पतालबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्ड हटेको छ । हावाहुरीले हटाएको बोर्ड हेटौंडा अस्पताल बचाऊ अभियन्ताहरुले तत्काल बोर्ड राख्न नदिने अडान लिएका छन् ।
मदन भण्डारी र हेटौंडा अस्पताल अलग गर्न प्रकृतिले पनि साथ दिएको हेटौंडा अस्पताल बचाऊ अभियान संयोजक विशालराज महतले जानकारी दिएका छन् । लामो समयदेखि अस्पताल र मदन भण्डारी छुट्याऊ अभियानमा लागेका समूहले पुनः बोर्ड राख्न नदिने अडान लिएका छन् । हेटौंडा अस्पतालबाट मदन भण्डारीलाई अलग गराउने अदालतमा मुद्धा चलिरहेको र फैसला नभएसम्म नराख्न अभियान समूहले अनुरोध गरेको छ ।
‘संवैधानिक इजलासमा बहस चलिरहेको र टुंगो नलागेसम्म पुनः नराख्न अनुरोध गरेका हौं,’ हेटौंडा अस्पताल बचाऊ तथा सुधार अभियानका संयोजक महतले भने । यदि अटेर गरः पुनः राखेमा विरोधमा उत्रिनेसमेत उनले बताए ।
हावाहुरीले उडाएको र च्यात्तिएको भएर फेर्नैपर्ने अवस्था रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए । अदालतमा मुद्धा पुगिसकेको हुँदा हाललाई त्यसअनुसार लैजानुपर्नेमा उनले जोड दिए । ‘हामी समन्वय गरेर अगाडि बढ्ने छौं । जुन अवस्थामा बोर्ड थियो, हाललाई त्यही अवस्थामा राख्दा ठीक हुनेछ,’ उनले भने ।

