Search
Close this search box.

लाइन जाने समस्या बढेको भन्दै रास्वपाको ध्यानाकर्षण


हेटौंडा। बिगत केही समयदेखि हेटौंडाआसपास बजारमा बत्तीको लाइन जाने समस्या अधिकरुपमा बढेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले ध्यानाकर्षणपत्र बुझाएको छ । आइतबार हेटौंडा–१० स्थित विद्युत् प्राधिकरण केन्द्र प्रमुख ई. शिवराम यादबलाई पार्टीका आरएटी महेन्द्रकुमार श्रेष्ठले ध्यानाकर्षणपत्र बुझाएका थिए ।
उपभोक्ता मर्कामा परेको र व्यापार/व्यवसाय अत्यन्त धरासयी हुँदै गएको र लामो समयदेखि विविध समस्याका कारण सिथिल अवस्थामा पुगेकोमा व्यवसायी फेरि अघोषित लोडसेडिङको मारमा पर्न थालेकाले अघोषित लोडसेडिङ तत्काल अन्त्य गर्न ध्यानाकर्षण पत्र बुझाइएको श्रेष्ठले बताए । यही अवस्था रहिरहे आन्दोलन गर्न बाध्य हुने ध्यानाकर्षणपत्रमा चेतावनी दिइएको छ ।
विद्यत् प्राधिकरणका प्रमुख ई. यादबले उपमहानगरपालिकाले हरिया रुखहरुमा स्टिट्रल्याम्प राखेर बिनामिटर बिजुली प्रयोग गरिरहेको बताउँदै बारम्बार आग्रह गर्दा पनि अटेर गरेको बताए । वर्षाको समयमा पानी लिकेज भइ दुर्घटना हुनसक्ने जोखिम पनि उत्तिकै रहेको उनको भनाइ छ । राति सवारी चलाउन ती बत्तीले प्राविधिकरुपमा असहज बनाउने बताउँदै उनले मिटर नराखी जथाभावी काम नगर्न नगरपालिकालाई आग्रह गरे ।
‘हटाउन हामी सहमति कुरिरहेका छौं । यदि अटेर गरिरहे भने हामी हटाउन बाध्य हुने छौं,’ उनले भने । अघोषित लोडसेडिङको विषयमा उनले भने–लोडसेडिङ हुँदैन, प्राविधिक कारण बत्ती जाने समस्या आएको हो । अब नेपालमा लोडसेडिङ गर्नुपर्ने समस्या फेरि आउँदैन । हेटौंडा उपमहानगर प्रवक्ता सबिन न्यौपानेले जोखिम नहुने बुझेरै बत्ती राखिएको भन्दै ती बत्तीले राति सुरक्षाको हिसाबले सहज भएको प्रहरीको भनाइ आएको बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan