Search
Close this search box.

हेटौंडा अस्पतालको ४ बिघा जोगाउन आग्रह


हेटौंडा। हेटौंडा अस्पतालको जग्गा गैरकानुनी किनबेच भइरहेको दाबी गर्दै ‘अस्पताल बचाऊ तथा सुधार अभियान’ ले सम्बन्धित निकायहरुलाई ध्यानाकर्षणपत्र बुझाएको छ । मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई अभियान सदस्य सफल अधिकारीले बुधबार ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
लालपुर्जा अर्थात् धनीपुर्जा सम्पत्तिको कानुनी मान्यता हो, जुन नेपाल सरकारले विधिसम्मत्‌रुपमा प्रदान गर्ने गर्दछ । हेटौंडा–१ स्थित हेटौंडा अस्पतालको नाममा रहेको धनीपुर्जाअनुसारको कित्ता–१९९, ३९७, ४०० समेत ४ बिघा राज्यको आधिकारिक दस्ताबेज हो । उक्त दस्ताबेजलाई बेवास्ता गर्दै विधि र कानुनभन्दा माथि आफूलाई राख्ने प्रयत्न गैरकानुनी, अमर्यादित र अस्वीकार्य कार्य हो । यस किसिमको कार्यले राज्यव्यवस्था र जनताको सामूहिक सम्मानमाथि प्रश्नचिह्‌न उठाउने अधिकारीले बताएका छन् ।
मकवानपुर रेडक्रसद्वारा चर्चिएको हेटौंडा अस्पतालको दक्षिणपूर्व कुनामा अवस्थित संरचना हटाउने, अस्पतालको उत्तरपूर्वी भागमा रहेको ५ बिघा १० कठ्ठा जमिन तरकारी बजार र बाइपास सडकसंग जोडिएको जग्गा प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, हेटौंडा उपमहानगरपालिकाको उपस्थितिमा नापजाँच गरी एक वर्ष अवधिमा अतिक्रमण हटाइएको छ । अभियानका तर्फबाट निवर्तमान संयोजक प्रकाश पौडेल, पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको समन्वयमा उक्त कार्य गरिएकोमा हाल उक्त जमिनमा पुनः कागजी किनबेच, संरचना निर्माण, घेराबार आदि कार्य भइरहेका छन्, जुन अत्यन्त आपत्तिजनक र गैरकानुनी छन् । ‘सरकारको नाममा रहेको सम्पत्तिलाई पुनः सरकारमातहत सुरक्षित राख्न पत्रमार्फत् हामीले गम्भीर ध्यानाकर्षण गराएका छौं,’ अधिकारीले भने । ध्यानाकर्षणपत्र बुझ्दै प्रजिअ श्रेष्ठले पत्र टास गरी अगाडि बढ्न हेटौंडा–१ वडा अध्यक्ष सबिन न्यौपानेलाई आग्रह गर्दै सरकारी जग्गा दुरुपयोग नगरिने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
उक्त जग्गामा रेडक्रस भवन, सवारी पार्किङ, बिरामी कुरुवा भवन, स्वास्थ्य निर्देशनालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता सार्वजनिक उपयोगका संरचना स्थापना गरी शिक्षण तथा सेवा प्रदान गर्ने कार्य राज्यकै स्वामित्वमा गरियोस् भन्ने अभियानको आग्रह छ । हामी अभियन्ताहरु राज्यको आँखाका रुपमा जिम्मेवार नागरिक भएर क्रियाशील छौं भन्ने कुरा मनन् गरिदिनुहोला,’ पत्रमा अभियानले भनेको छ । मंगलबार हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामा, भूमि आयोग अध्यक्ष बलराम बल र मदन भण्डारी प्रतिष्ठान उपकुलपति प्रदीप ज्ञवालीलाई पत्र बुझाइएको थियो ।
हेटौंडा अस्पताल बचाऊ तथा सुधार अभियान मकवानपुर जिल्लाका आमनागरिकको स्वास्थ्य अधिकारसंग प्रत्यक्ष सरोकार राख्छ । सरकारबाट प्राप्त स्वास्थ्यसम्बन्धि सेवा तथा सुबिधाहरु सहजरुपमा आमजनतामा पुर्‍याउने उद्धेश्यले स्थापित यो एक सामाजिक अभियान हो । अभियानले सम्बन्धित निकायहरुलाई जनताको संवेदनशील अधिकार स्वास्थ्य क्षेत्रमा भइरहेका चरम लापरबाही, विभिन्न स्वार्थप्रेरित तथा नियोजित अनुचित क्रियाकलाप, आर्थिक अनियमितता र अन्य विकृतिविरुद्ध निरन्तररुपमा चेतना फैलाउने, समन्वय गर्ने, वार्ता, खबरदारी र अनसनजस्ता विधिबाट दबाब सिर्जना गर्दै आएको सर्वविदित तथ्य हो भन्दै जसको स्मरण पुनः गराइएको छ ।
‘राज्य, सरकारभन्दा माथि कोही हुँदैन भन्ने हाम्रो स्पष्ट मान्यता छ भन्ने पनि ध्यानाकर्षण गराइएको छ । राष्ट्रले प्रयोग गर्ने छाप, निशान र चिह्‌नहरु राज्यको गरिमाका प्रतीक हुन् । कुनै पनि संस्था वा समूहले ती प्रतीकहरुसंग समान व्यवहार गरी राज्यको हैसियतसंग तुलना गर्नु वा प्रतिस्पर्धा गर्नु न केवल कानुनी उलंघन हो, बरु राज्यको सम्मान र शासन व्यवस्थामाथिको गम्भीर उपहाससमेत हो,’ अभियानले भनेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan