Search
Close this search box.

जमिनमुनि भासिएको बोलेरो १९ दिनपछि भेटियो 


हेटौंडा। हेटौंडा -१६, गैरीगाउँमा  बैशाख १९ गते शुक्रबार जमिनमा भासिएर हराएको बोलेरो गाडीको पार्टपुर्जा  मंगलबार १९ दिनपछि फेला परेको छ । उक्त वडाका वडा अध्यक्ष रामकृष्ण कोइरालाको पहलमा खोजी कार्य भएपश्चात उक्त बोलेरो गाडीको पार्टपूर्जा भेटिएको हो।

हराएको बोलेरोबारे अध्ययन गर्न काठमाडौंबाट आएको भूगर्भविद्को टोली गाडीको अवस्थिति पत्ता नै नलगाई फर्किएपछि  स्थानीयको प्रयासमा उत्खनन् गरी पार्टपूर्जा निकालिएको हो ।

गाडी हराएको छैटौं दिनसम्म पनि फेला नपरेपछि अध्ययन गर्न पुगेको भूगर्भविद् टोली सुरक्षाका कारण देखाउँदै नतिजाबिहीन अवस्थामा फर्किएको थियो ।

गैरीगाउँबाट चुच्चेखोलातर्फ आउँदै गरेको ना. ४ च ४८३३ नम्बर माछा बोक्ने सिंगल क्याप बोलेरो दिउँसो  करिब १ बजे जमिनमा भासिएपछि बेपत्ता भएको थियो । गुड्दा गुड्दैको बोलेरोका चालक हरेराम राई र सहचालक मुक्तिनाथ सहनीले भने भासिनुअघि नै निस्किएकाले दुर्घटनामा पर्नबाट जोगिएका थिए ।

भूगर्भशास्त्र केन्द्रीय विभाग काठमाडौंबाट खटिएका ५ सदस्यीय भूगर्भविद्को टोलीले गरेर अध्ययनले गाडी खाल्टोमा दबिएको निष्कर्ष निकालेको थियो । भूगर्भविद् नारायण अधिकारीसहित टोली आफूहरु नै असुरक्षित भएको भन्दै फर्किएको थियो । भूगर्भविद् अधिकारीले गाडी भासिएको घटनास्थल क्षेत्रमा चुम्बकीय शक्ति भएको वस्तु प्रारम्भिक अध्ययनबाट देखिएको भन्दै प्रारम्भिक अध्ययन भएको र  गाडी कति तल र कहाँ छ भन्ने यकिन भइनसकेको बताएका थिए । ‘अध्ययन भएको छ । यसका आधारमा के नतिजा देखिन्छ, थाहा छैन । यसको वैज्ञानिक उत्तरका लागि थप अध्ययन आवश्यक छ, ।’ उहाँले अध्ययन रोकिने बताउँदै आफ्‌नो सुरक्षाका लागि पनि अध्ययन रोकिने बताएका थिए ।

उनले भएका अध्ययन विश्लेषण गरेर अगाडि बढ्ने भन्दै उक्त क्षेत्रमा पानीका मूल तीन स्थानबाट आएको पाइएको बताएका थिए ।
टोलीले चुम्बकीय वस्तु पत्ता लगाउन म्याग्नेटोमिटर प्रयोग अध्ययन गरेको थियो । भूगर्भविद् अधिकारीका अनुसार जमिनमुनि ठूलो र बलियो चुम्बकीय वस्तु रहेको अनुमान गरे पनि कति गहिराइमा छ भन्ने पत्ता लागेन । गाडी भासिएको स्थानमा माछापालनका लागि खनिएको बोरिङ र पानीको मूलको प्रभावले जमिन कमजोर बनेको अनुमान छ । गाडी भासिएको स्थलमा दह बनेको थियो तर खोजी कार्यलाई जारी राखिएको थियो ।

भूगर्भविद्को सल्लाहअनुसार खोजी गर्ने क्रममा मंगलबार गाडीको पार्टपुर्जा भेटिएको हो । गाडी खोजी गर्ने क्रममा बैशाख २३ गते भुगर्भविद्को टोलीले अनुसन्धानसहित माटो परीक्षणका लागि लिएर फर्किएको थियो । सतर्कता अपनाइ उत्खनन् गरी सवारी खोजतलास गर्न सकिने स्थानीय जनप्रतिनिधिलाई सल्लाह दिइएकोमा मंगलबार दिउँसो  करिब सवा १२ बजे क्रेन र स्काभेटरको प्रयोगले गाडीका केही पार्टपुर्जा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

चालक राईका अनुसार पुरिएको स्थानमा गाडी पुग्दा भुकम्प आएजस्ता अनुभव भयो । एक्कासि करिब ५ सेकेण्डबीचमा गाडी पुरिएको थियो । गाडीको ढोका पूरा लक नभएका कारण तत्काल खोलेर भाग्न सकिएको उनको अनुभव छ । बम विष्फोट हुँदाको अवस्थाजस्तै गाडी एकैचोटि भित्र पसेको उनले बताएका थिए   । जमिनमुनिको पानीको अधिक दोहनका कारण  घटना भएको स्थानीयको दाबी छ ।

वडा अध्यक्ष रामकृष्ण कोइरालाले १० वर्षअघि त्यही क्षेत्रनजिक गोरु दलदलमा भासिएको देखेको अनुभव सुनाएका छन् । हेटौंडा बजारबाट पूर्वस्थित वडा नम्बर–१६ र १७ को सिमानामा १६ नम्बर वडामा उक्त स्थान पर्दछ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan