हेटौंडा । पूर्वपश्चिम राजमार्गमा क्षमताभन्दा बढी भार बोकेका सवारीका कारण पुल भाँचिने र राजमार्ग भासिने घटना बढ्दै गएकोप्रति यातायात व्यवसायीको साझा संस्था नारायणी यातायात व्यवसायी कम्पनी प्रालिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सार्वजनिक यातायातमा ठूलो समस्या उत्पन्न भइ यात्रु तथा मालवाहक सवारीसाधनले अनावश्यक झन्झट भोग्नुका साथै आर्थिक क्षतिसमेत भइरहेको भन्दै ध्यानाकर्षणसहित बिहीबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा कम्पनी अध्यक्ष गोकर्ण पराजुलीले चिन्ता व्यक्त गरेका हुन् ।
यातायात व्यवसायी वर्षौं पुराना पुल नियमित मर्मतसम्भार नगर्दा र भारतीय ट्रकका कारण पुल भाचिएको र भाचिने क्रम बढेको बताउछन भने सरकारी अधिकारीहरु पुलको गुणस्तर कमजोर नभइ अधिक भार (ओभरलोड) गाडीका कारण भाँचिने गरेको दाबी गर्छन् ।
२०८२ बैशाख २९ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत् नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–८, चोरमारास्थित गिरुबारि खोला पुल भाचियो । होङ्सी सिमेन्ट कम्पनीबाट क्लिंकर बोकेर वीरगञ्जतर्फ आउँदै गरेका मप्र ०३–००१ क ३१६३ नम्बर १८ चक्के टेलर गुड्दै गर्दा पुल भाँचिएको थियो । पुल भाचिएपछि सवारी आवगमन अवरुद्ध भएको थियो ।
गत पुस २६ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत् दुम्कीबासको विनयी खोला पुल भाँचियो । अधिक भारसहित भारतीय मालवाहक लरीका कारण पुल भाचिएको थियो । पुल भाचिँदा २ दिनसम्म सवारी आवगमन ठप्प भएको थियो । डाइभर्सन निर्माण गरी सवारी सञ्चालनमा ल्याइयो । ३ वर्षअघि पनि उक्त पुलमा प्वाल परेको थियो ।
२०७८ माघ २९ गते संखुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाचियो । पुल भाचिदा इप्सुवा हाइड्रोपावर कम्पनीको निर्माण सामग्री लिएर गएको तीन वटा ट्रक अरुण नदीमा खसेका थिए । उक्त क्षेत्रमा हप्तौंसम्म सवारी आवतजावत ठप्प भएको थियो । इलामको फिक्कल नयाँ बजार सडकखण्डमा पर्ने मयँखोला पुल भाचिएपछि यातायात सञ्चालनमा समस्या भएको थियो । उनले देशभरका पुलहरु करिब ५० वर्ष पुराना र तत्कालीन सवारी चाप तथा भार क्षमताअनुसार निर्माण गरिएको बताए । ‘तर, हाल दैनिक हजारौं सवारीसाधन र क्षमताभन्दा बढी भार बोकेका मालवाहक गाडीहरु गुड्दा पुराना पुलहरुले भार थेग्न नसकेको स्पष्ट छ । नयाँ निर्माण भएका पुलबाहेक पूर्वपश्चिम राजमार्ग निर्माणको समयमा बनेका पुलहरुको भारक्षमता हालको आवश्यकताभन्दा कम छ,’ उनले भने । सरकारले कुन सडकमा कति लोड बोकेका गाडी गुड्ने दिने भन्ने नियम पूर्णरुपमा लागु गरेमात्र सडक र पुल टिकाउ हुने बताए ।
कानुनमा सवारीले बोक्न पाउने लोड तोकिएको छ । तर, चालकले भाडाको लोभमा तोकेभन्दा धेरै लोड बोक्छन् । प्रहरीले पनि ओभरलोडेड गाडी रोक्नुपर्नेमा उल्टो छाडेको देखिन्छ । सडकमा सवारीजाँचको जिम्मेवार पाएकाले प्रभावकारी नियमन गरेको पाइँदैन । चालकहरुले १०/२० हजार भाडाको लोभमा १५/२० करोड लागतका पुल भत्काउने जोखिम मोल्ने गरेका छन् ।
अध्यक्ष पराजुलीले अधिक भार बोक्ने भारतीय ट्रकका कारण नेपालका पुलहरु धरापमा परेको बताए । अधिकांश नेपाली ट्रकले तौलपुल नियमपालना गरे पनि निर्वाधरुपमा आउने भारतीय ट्रकका कारण पुल भाँचिने गरेको उनले बताए।

