हेटौंडा – हेटौंडा–१९ स्थित लेखपानीमा छिट्टै पानीको पहुँचमा पुर्याउने हेटौंडा उपमहानगरका उपमेयर राजेश बानियाँले प्रतिबद्धता व्यक्त गरेका छन् । लेखपानीस्थित जीवनज्योति आधारभुत विद्यालयको पर्खाल तथा शैक्षिक प्रदर्शनी मेला उद्घाटन गर्दै उपमेयर बानियाँले गाग्रीमा पानी बोकेर हिड्नुपरेको कष्टप्रति भावुक हुँदै छिट्टै पानीको पहुँच पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
लेखपानी भुगोलको गहिराइमा पुग्न कार्यक्रमले सहयोग गरेको बताउदै उनले धन्यबाद व्यक्त गरे । लेखपानीको अवस्थाबारे बुझ्न नपाएका कारण पछाडि परेको भन्दै विद्यालयदेखि लिएर सबै भुगोलको विकास गर्ने प्रतिबद्धता जनाए । विद्यालयका बालबालिकालाई आवश्यक खाद्यान्नका लागि बजेटमै राखेर लैजाने पनि उनको प्रतिबद्धता छ । कार्यक्रममा पत्रकारिताका माध्यमबाट विगत लामो समयदेखि विद्यालयमा अतुलनीय योगदान गरेको भन्दै पत्रकार कमलचन्द्र सुमन र मञ्जिता मैनालीलाई सम्मान गरिएको थियो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयबाट ८ लाख बजेट परेर विद्यालयवरिपरि पर्खाल लाउने काम भएसंगै बालबालिका सुरक्षित रहेको विद्यालय अध्यक्ष प्रेमबहादुर गोलेले बताए । प्रदेश सञ्चारमा प्रकाशित समाचार तथा स्थानीय अभिभावकको पहलमा बजेट परेर पर्खाल लगाउने काम भएको उनको भनाइ छ ।
जीवनज्योतिमा ५ कक्षासम्म पढाइ हुने कारण ५ पछि लगभग ७० प्रतिशत् बालकालिकाले पढाइ छाड्ने गरेका छन् । बालबालिकाको पढाइ राम्रो हुँदाहुँदै पनि कति बालबालिकाले घरको आर्थिक अवस्थाका कारण लेवट बजारसम्म गएर पढ्न सक्दैनन् । ३० प्रतिशत् बालबालिका घरपरिवार केही शिक्षित भएका कारण लेवट बजारसम्म पुर्याएर पढाउने गरेका छन् । अन्य बालबालिकाले १५/१६ वर्षमै भागीविवाह गर्ने गरेका छन् । अभिभावकले पनि उक्त कार्यमा ॅमौन सहमति’ जनाउने गरेका छन् । कति अभिभावकले त ‘५ सम्म पढेर अक्षर चिने पुग्छ’ समेत भन्ने गरेका छन् ।

