हेटौंडा। मानवअधिकार संरक्षण, प्रवद्र्धन र प्रत्याभूतिको अभियानमा २५ वर्षको यात्रा गौरवपूर्ण बनाउनु राष्ट्रिय मानवअधिकार आयोगको प्रतिबद्धता, निष्ठा, जागरुकता र संस्थागत् दृढताको ज्वलन्त प्रमाण रहेको भन्दै बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आयोगको प्रशंसा गरेका छन् ।
मानवअधिकार आयोगको २५ औं स्थापना दिवस अवसरमा देवकोटाले न्याय, समता र मानव गरिमाको सुनिश्चितता नै आधुनिक र समृद्ध राष्ट्रनिर्माणको आधारशीला भएको बताउदै जबसम्म नागरिकको सम्मानपूर्बक बाच्ने अधिकार ग्यारेन्टी हुदैन, तबसम्म देश विकास हुन नसक्ने बताए । नेपालको संविधान, २०७२ ले प्रत्याभुत गरेका मौलिक हक, अधिकार तथा स्वतन्त्रताहरुको प्रभावकारी कार्यान्वयनमा राष्ट्रिय मानवअधिकार आयोगले निर्वाह गरेको भूमिका समयसापेक्ष, सशक्त र प्रेरणादायी रहदै आएको उनले बताए ।
‘रजत जयन्ती केवल एक उत्सवमात्र होइन, विगतका कार्यसम्पादनलाई बस्तुगत् तवरले मूल्यांकन गर्ने, वर्तमानका चुनौतीहरुलाई चिर्ने संकल्प गर्ने र आगामी दिनमा स्पष्ट दिशा तय गर्ने अवसर हो,’ उनले उक्त अवसरलाई मानवअधिकारको सार्वभौम मान्यताअनुरुप समाजमा न्याय, समावेशीता र सहिष्णुताको संस्कृति संस्थागत् गर्नसक्ने प्रेरणाको स्रोत बनाउनुपर्नेमा जोड दिए ।
ॅपीडाका पलहरु सकभर नहुन् वा कम हुन् अनि खुशीका पलहरु अधिक हुन् भन्ने चाहना हरेक मानवमा हुन्छ । पीडाबोधको कारक व्यक्ति स्वयम् र समाज हुनसक्ने परिप्रेक्ष्यमा यी दुवै खाले पीडाका पक्ष न्यूनीकरणमा मानवअधिकार आयोगको प्रत्यक्ष र परोक्ष भूमिका हुन्छ,’ उनको कथन छ ।
आयोगले सामाजिक न्यायका पक्षमा गरेको अभियान सराहनीय छ । तर, अझै पनि समाजमा हिंसा, द्वन्द्व, विभेद कायम छन् । जसरी पनि मानवको सम्मानपूर्वक बाच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्दछ,’ उनले मानवअधिकार हनन्का कहालीलाग्दा घटना घटिराख्नु दुर्भाग्यपूर्ण रहेको बताए । उनले अझ कति घटना बाहिर आउन नसकेको बताए । संविधानलाई हेर्दा साच्चिकै सभ्य, सुन्दर र न्यायमूलक समाजको प्रतिविम्व देखिन्छ । तर, हामी मानवअधिकार ग्यारेन्टीका सवालमा पछि छौं,’ उनले संविधानले सचेतना, प्रवद्र्धनात्मक र आवश्यकपरे हस्तक्षेपकारी कार्यमा जोड दिएर सम्भावित मानवअधिकार उलंघन रोक्न सकिने दर्शाएको स्मरण गराए ।
राष्ट्रिय मानवअधिकार आयोग केन्द्रको आव २०८०/०८१ को २४ औं वार्षिक प्रतिवेदन हेर्दा प्रवद्र्धनात्मक कार्यमा हेटौंडा कार्यालय तुलनात्मकरुपमा पछि परेजस्तो देखिने भन्दै उनले सम्भावित मानवअधिकार हनन् रोकथामका उपायहरुलाई स्थानीय तहसम्म पुगेर केकति क्रियाकलाप गरिए, सोको स्वमूल्यांकन गर्न सुझाए । ॅसाधन, स्रोतलगायत समस्या होलान् तर मानवअधिकार जस्तो गम्भीर विषयमा चनाखो हुनुपर्दछ । र, उक्त क्षेत्रमा कार्यरत् सम्पूर्ण पक्षसंग समन्वय गरेर अघि बढ्नुपर्छ,’ उनले भने ।
कार्यक्रममा मकवानपुरका सहायक प्रजिअ राजेन्द्रप्रसाद कडेल, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलान रआयोग बागमतीकी निमित्त प्रमुख पवित्रा भण्डारीलगायतको उपस्थिति थियो ।

