हेटौंडा- हेटौंडामा मानवबेचबिखन प्रभावितसंग अन्तर्क्रिया भएको छ । ‘महिलाअधिकारको सम्मानः आत्मनिर्भर हाम्रो अभियान’
सातौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा कार्यक्रम भएको हो । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता थियो ।
कार्यक्रममा नगरका बेचबिखनमा परेका महिलाको उपस्थिति थियो । बेचबिखन प्रभावितहरुले कामको सिलसिला विभिन्न ठाउँ भारतमा पढाइ नभएको र आर्थिक अवस्था न्यून हुँदा दुःखसंगै बेचिन पुगेको बताए । एक युवकले भने–आत्मनिर्भर बन्न सकेका कारण मैले जितें । हाल मेरो परिवार छ । उपस्थितले बुबाआमाको मृत्युपछि छोराछोरीले जन्मदर्ता नपाएको गुनासो गरेका थिए । एचआईभी भएका कारण अस्पतालमा उपचारमा समस्या भएको, पढाइ नभएको र बेचबिखनमा परेको कारण घर धान्न र छोराछोरी पढाउन गाह्रो भएको उनीहरु सुनाउछन् ।
घर चलाउन गाह्रो भयो भन्दै एउटै आवाजमा उनीहरु भन्छन्–सिप सिकाएर आत्मनिर्भर बनाइदिनुस्, होइन भने रोजगार दिनुस् । महिलामात्र नभइ पुरुष पनि बेचबिखनमा परेका छन् । नगरका मानव बेचबिखनमा परेका १ सय २० जनामध्ये ११ पुरुष छन् ।
कार्यक्रममा नगरको महिला तथा बालबालिका शाखा निर्देशक विष्णुकुमारी लामिछाने, २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जन, माइती नेपाल कार्यक्रम संयोजक माया लामा, शान्ति फाउन्डेसन जिल्ला अधिकृत सीता गुरुङ, महिला तथा बालबालिका शाखाकी बिना थिङ, जिल्ला समन्वय अधिकारी शान्ति बिकलगायत सहभागी थिए ।

