हेटौंडा।समाजवादी मोर्चाआवद्ध दल र अन्य दलले सार्वजनिक जमिन वडाका केही जनप्रतिनिधि र स्थानीय युवा ‘गुण्डा’ को रोहवरमा जमिन ‘कब्जा’ गरिएको भन्दै ध्यानाकर्षणपत्र बुझाएका छन् ।
हेटौंडा–१, चौकीटोलस्थित जरुवाटोल तरकारी सब्जीमण्डीको उत्तरमा रहेका सार्वजनिक जमिन वडाका केही प्रतिनिधि र स्थानीय युवा ‘गुण्डा’ को रोहवरमा कब्जा गरिएको भन्दै बुधबार प्रजिअ स्किम श्रेष्ठ र हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामालाई ध्यानाकर्षणपत्र बुझाइएको हो । ‘चौकीटोल जरुवाटोल सार्वजनिक जमिन संरक्षण समितिले गत जेठ १४ गते प्रजिअसमक्ष बुझाइएको ध्यानाकर्षणपत्रमा राजनीतिक दलहरुका तर्फबाट ऐक्यबद्धता व्यक्त गर्दछौं,’ ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
सार्वजनिक जमिन बिक्रीवितरण र निर्माणका लागि ढुंगा झार्नेसमेत गरिएकाले ती व्यक्तिहरुलाई कानुनी दायरामा ल्याएर कारबाहीको माग गरिएको छ । भ्रष्टाचार, गुण्डागर्दी र बेथितिले ठाउँ लिएको भन्दै राजनीतिक दलहरुले सार्वजनिक जमिन रक्षा र भूमिहीन सुकुम्बासीलाई बसोबासका निम्ति व्यवस्थापनको माग गरेका छन् ।
चौकीटोल जरुवाटोल सार्वजनिक जमिन संरक्षण गर्न र मकवानपुरका सार्वजनिक जमिनको रक्षा र भूमिहीन सुकुम्बासी व्यवस्थापनमा राज्यका कर्तव्य र दायित्वको भूमिका प्रदान गर्न राजनीतिक दलका तर्फबाट जनताको मुद्धा सम्बोधन, सुकुम्बासी र गुण्डागर्दीबीचमा सम्भावित अशान्ति रोक्ने पहल गर्न ध्यानाकर्षणपत्रमा भनिएको छ ।
नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी, रास्वपा मकवानपुर संयोजक र प्रतिनिधि, नेकपा माले मकवानपुरलगायतको उपस्थितिमा ध्यानाकर्षणपत्र बुझाइएको हो । केही समयअघि हेटौंडा अस्पतालको जग्गा गैरकानुनी किनबेच भइरहेको दाबी गर्दै अस्पताल बचाऊ तथा सुधार अभियानले सम्बन्धित निकायहरुलाई ध्यानाकर्षणपत्र बुझाएको थियो ।
कार्यपालिकाको बैठक मार्फत अगाडी बढी राजनीतिक दलसहितको समिती बनाएर अगाडी बढ्ने मेयर लामाले प्रतिबद्धता व्यक्त गरे ।
पुष्टि गर्न चुनौती
हेटौंडा–१ स्थित हेटौंडा अस्पतालको नाममा रहेको धनीपुर्जाअनुसार कित्ता नं.–१९९, ३९७, ४०० समेत ४ बिघा राज्यको आधिकारिक दस्ताबेज भएको भन्दै ध्यानाकर्षणपत्र बुझाइएको थियो । ‘जनप्रतिनिधिको संलग्नता’ भन्ने कुरा भ्रामक र सरकारी जग्गा कब्जा गर्न खोजेको भन्ने कुरा भ्रामक भएको भन्दै वडा अध्यक्ष सबिन न्यौपानेले सोको पुष्टि गर्न चुनौती दिएका छन् । बाहिरका सुकुम्बासी छिर्ने नियत रहेको र यो कदापि हुन नदिइने उनले बताए । जग्गा संरक्षणको काम गर्दै आएको ठोकुवा गर्दै उजले उक्त स्थानलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अघिल्लो पटक हेटौंडा अस्पताल बचाऊ तथा सुधार अभियानले यस विषयमा ध्यानाकर्षणपत्र बुझाएको र उक्त विषयमा कुनै काम अगाडि नबढाइएका कारण पुनः पत्र बुझाइएको सामाजिक अभियन्ता विशालराज महतले बताए । पत्र बुझ्दै प्रजिअ श्रेष्ठले मेयरसहित सम्बन्धित स्थानमा पुगेर कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । गुण्डागर्दी गरेको प्रमाणसहित ल्याए कारबाही गरिने उनको भनाइ छ ।
हिमालय टाइम्सबाट

