Search
Close this search box.

मनहरीमा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते


मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित पूर्वपश्चिम राजमार्गमा स्कुटर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्।

आइतबार दिउँसो करिब २:३० बजे, चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–०४ प ११६२ नम्बरको स्कुटरलाई, हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना.६ ख ३०४० नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

स्कुटर चालक, चितवन भरतपुर महानगरपालिका–११ का अन्दाजी ५१/५२ वर्षीय मोति बहादुर क्षेत्रीलाई ३:१० बजे हेटौंडा अस्पताल लगिएको थियो तर उपचारका क्रममा ३:२० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

स्कुटरको पछाडि सवार रहेकी चितवन भरतपुर महानगरपालिका–९ सरतपुर निवासी ३६/३७ वर्षीया नरमाया गुरूङको दाहिने खुट्टा, हात, टाउको र अनुहारमा चोट लागेको छ। उनी हाल चितवनको पुरानो मेडिकल कलेजमा उपचाररत रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा संलग्न ट्रक चालक, सप्तरीको बोर्डरसाई नगरपालिका–२ निवासी ३५ वर्षीय अशोक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

दुर्घटनामा प्रयोग भएको ट्रक पनि नियन्त्रणमा रहेको छ। मृतकको शव हेटौंडा अस्पतालमा राखिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan