हेटौंडा । मकवानपुरको कुलेखानी क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा साढे ६ हजारभन्दा बढी एम्पुल लागूऔषधसहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेका छन्।
शनिबार राति इन्द्रसरोवर गाउँपालिका–२ स्थित सडकखण्डमा चेकजाँच गर्दा भारतीय नम्बरको स्कारपियो गाडीबाट डाइजेपाम, नुर्फिन, प्रोमेथाइजिन हाईड्रोक्लोराइड गरी ६,४४३ एम्पुल लागूऔषध र ट्रामाडोल ट्याबलेट ४९ थान फेला परेको हो।
पक्राउ पर्नेमा २४ वर्षीय शेख गुल्जार, २५ वर्षीय बसिम अहमद, १९ वर्षीय नेसाब आलम र ४३ वर्षीय शेख सकुत रहेका छन्। उनीहरू सबै सुगौली गाउँपालिका अन्तर्गत विभिन्न वडामा बसोबास गर्दै आएका छन्।
पक्राउ परेका चारै जना भारतको बिहार राज्य, मोतीहारी जिल्लास्थित सुगौली क्षेत्रका रहेको प्रहरीले पुष्टि गरेको छ ।
उनीहरूले गाडीको विभिन्न भागमा फल्स बटम बनाइ लागूऔषध लुकाएका थिए। प्रारम्भिक अनुसन्धानमा उनीहरूले लागूऔषध काठमाडौं पुर्याउने उद्देश्य रहेको स्वीकार गरेका छन्। प्रहरीले यसलाई हालसम्मकै ठूलो परिमाणको बरामदगी मानेको छ।
प्रहरीले लागूऔषध नियन्त्रण ऐनअनुसार मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ। साथै, उनीहरूको विगतमा पनि तस्करीमा संलग्नता रहेको/नरहेकोबारे अनुसन्धान जारी छ।

