Search
Close this search box.

सिआनमा महिलाका लागि मानसिक उपचार नियमित

हेटौंडा । हेटौंडास्थित सिआन लाइफकेयर सेन्टरले महिला लागुऔषध तथा मादकपदार्थ प्रयोगकर्ता र विविध कारणवश मानसिक समस्याबाट प्रभावित महिलाहरुलाई लक्षित गर्दै मासिक तथा आकस्मिक साईक्याट्रिक सेवा प्रदान गर्दै आएको छ।

केन्द्रका निर्देशक तान्या अग्रवालकाअनुसार हाल केन्द्रमा २७ जना महिला आश्रयमा छन्,जसमा ८ जना मानसिक समस्याबाट पीडित छन्। तीमध्ये २ जना युवती र ६ जना अधउमेर समुहका छन्। उनीहरुको उपचार एलोपेथिक औषधि तथा नियमित मानसिक परामर्शको माध्यमबाट भइरेहेको छ।

मानसिक रोग विशेषज्ञ डा. उद्धव लामाबाट महिनामा एकपटक साईक्याट्रिक चेकअप हुने व्यवस्था मिलाइएको छ भने जनरल चेकअपका लागि डा. नरेन्द्र केसीले मासिकरुपमा सेवा दिइरहेका छन् । आवश्यकताअनुसार अन्य समय पनि चेकजाँच गरिने निर्देशक अग्रवालले बताए ।

डा. लामाले सिआनले समुदायमा गरिरहेको प्रभावकारी पहलकदमीलाई सकारात्मक मूल्यांकन गर्दै भने, “सिआनले सामाजिक उत्तरदायित्व वहन गरिरहेको देखेर म बाह्य ओपीडी सेवा भन्दा सुलभ दरमा यहाँ सेवा दिन थालेको हुँ। आकस्मिक आवश्यकताको अवस्थामा पनि म सधैं केन्द्रसँग रहने प्रतिबद्धता जनाएको छु।”

हालै हेटौंडा अस्पतालबाट केन्द्रमा महिलाका लागि निःशुल्क प्रजनन स्वास्थ्य परीक्षण पनि गरिएको थियो।

डा. लामाका अनुसार केन्द्रमा आएका धेरै महिलाहरु घरेलु हिंसा, मादकपदार्थ सेवन, अशिक्षा र सम्बन्ध विच्छेद जस्ता सामाजिक समस्याबाट मानसिक समस्यामा परेका हुन्। “हामी शारीरिक र मानसिक पक्षलाई ध्यानमा राख्दै औषधि र परामर्श दुबै माध्यमबाट उपचार गर्छौं,” डा. लामाले बताए।

उनले थपे, “हामी उपचारका क्रममा बिरामीको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सामूहिक प्रयास गर्छौं, जसको नतिजा स्वरूप धेरै महिला सुधार भएर पुनःस्थापित भइसकेका छन्।”

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan