Search
Close this search box.

पत्रकार महासंघ मकवानपुरका सदस्यहरूलाई निःशुल्क उपचार सेवा उपलब्ध

हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुर र सुनौलो भविष्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सहकारी अस्पतालबीच शनिबार भएको सम्झौतापछि महासंघमा आबद्ध पत्रकारहरूले निःशुल्क उपचार सेवा पाउने भएका छन्।

तीन वर्षका लागि गरिएको यो सहमतिअनुसार सहकारी अस्पतालले सामाजिक उत्तरदायित्व वहन गर्दै महासंघमा आवद्ध सदस्य तथा सदस्य बन्ने प्रक्रियामा रहेका सक्रिय पत्रकारहरूलाई स्वास्थ्य सेवा सहज बनाउने प्रतिबद्धता जनाएको छ।

सम्झौतापत्रमा महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण शर्मा अधिकारी र सहकारी अस्पतालका प्रतिनिधि नरोत्तम दाहालले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार, सम्पूर्ण ओपिडी सेवा, शल्यक्रिया, भर्ना भई गरिने उपचार, ल्याब, रेडियोलोजी तथा अन्य परीक्षणसम्बन्धी सेवा निःशुल्क प्रदान गरिनेछ। साथै, अस्पतालबाट प्रदान गरिने औषधीमा १० प्रतिशत छुट समेत दिइने भएको छ।

सेवा लिनका लागि महासंघद्वारा जारी गरिएको सदस्यता प्रमाणपत्र अनिवार्य हुने स्पष्ट गरिएको छ।

सम्झौतासँगै नेपालीहरूको महान् चाडपर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रमसमेत आयोजित गरिएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारू मगर, मकवानपुर अध्यक्ष बालकृष्ण शर्मा अधिकारी, सहकारी अस्पतालका प्रतिनिधिहरू, पूर्व अध्यक्षहरू तथा विभिन्न पत्रकार संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan