हेटौंडा । विदेशिनु मात्रै विकल्प होइन, माटोमै पसिना बगाएर पनि समृद्धि सम्भव छ भन्ने उदाहरण बनेका छन् हेटौंडा–१२, पदमपोखरीका ३३ वर्षीय युवा कृषक बुद्धि भोम्जन। पाँच वर्षअघि आफ्नो घर पछाडिको बाँझो जमिनमा ड्रागन फ्रुट (सिँउडी फल) खेती सुरु गरेका भोम्जन अहिले लाखौं रुपैयाँ आम्दानी गरिरहेका छन्।
भोम्जनले सुरुमा सहुलियत कर्जाको भरमा ‘सिन बहुउद्देश्यीय कृषि फार्म’ स्थापना गरे। पहिलो वर्षमै एक बोटबाट एक किलोसम्म ड्रागन फ्रुट फलाउन सफल भएपछि उनले यो पेशामा भविष्य देखे । अहिले उनको फार्ममा झण्डै ४ हजार बोट ड्रागन फ्रुट, २ सय भन्दाबढी उन्नत मेवा, एभोकार्डो, सुन कागती, अकबरे खुर्सानी, र गड्यौला मल उत्पादन हुँदै आएको छ।
करिब डेढ बिगाहा क्षेत्रफलमा फैलिएको यो फार्मको विशेषता भनेको, यहाँ १२ जना परिवारका सदस्यहरू मिलेर काम गर्छन्। पारिवारिक सहकार्यले गर्दा कामदारमा खर्च घटेको छ भने उत्पादनमा गुणस्तर र निरन्तरता कायम भएको छ।
भोम्जन भन्छन्, “परिवारकै साथमा काम गर्दा मन पनि लाग्छ र फाइदासमेत धेरै हुन्छ। अहिले वार्षिक ३० लाख रुपैयाँभन्दा बढी आम्दानी ड्रागन फ्रुटबाट मात्र हुने गरेको छ।”
उनी कृषिमा केवल मेहनती किसान होइनन्, प्राविधिक ज्ञानसहितका व्यवसायिक कृषक पनि हुन्। आफूले उत्पादन गरेको ड्रागन फ्रुटको बिरुवा आफैँ उत्पादन गर्छन्, बिक्री गर्छन्, र गड्यौला मल पनि आफ्नै फार्ममै उत्पादन गर्छन्।
बजार माग अनुसार उत्पादन पुर्याउन नसक्ने अवस्था आउन थालेको उनी सुनाउँछन्। “हामीकहाँ फार्ममै आएर ड्रागन फ्रुट किन्नेलाई रोक्न सक्ने स्थिति छैन,” उनी भन्छन्।
“दुख गरे आफ्नै माटोमा सम्भावना अपार छ,” भन्ने उनी युवालाई कृषिप्रति आकर्षित गराउन चाहन्छन्। “विदेश नगईकन नेपालमै राम्रो कमाइ गर्न सकिन्छ भन्ने अनुभवले मलाई यो बाटो रोज्न प्रेरित गर्यो। अब म चाहन्छु, अरू पनि सिकून, आफैँ स्वावलम्बी बनून,” उनी भन्छन्।
अहिले उनले ड्रागन फ्रुटसँगै निकट भविष्यमा अन्जिर र खजुर खेती सुरु गर्ने तयारी गरिरहेका छन्।
भोम्जनको सफलताले पदमपोखरी क्षेत्रलाई कृषिमा उदाहरणीय बनाएको छ। “अब पदमपोखरी पौरखी कृषकको क्षेत्र भनेर चिनिन्छ। यस्तो पहिचानमा मेरो योगदान छ भन्न पाउँदा गर्व लाग्छ,” उनी उत्साहित देखिन्छन्। बुद्धिको सफलताको कथा नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हो। उनले प्रमाणित गरेका छन्— मेहनत, दृष्टि र समर्पण भए माटोमै सुन फल्छ।

