Search
Close this search box.

सर्कसको सकस देखि समाजसेवा सम्म: एक बेचबिखन प्रभावितको मनछुने प्रेरणादायी कथा


हेटौंडा । “सपना देख्न पनि डर लाग्थ्यो, जब जिन्दगीकै रंग मेटिँदै थियो,” भन्छिन् कान्छी, जो अहिले मानव बेचविखनविरुद्धको अभियानमा सक्रिय एक उदाहरणीय समाजसेवी बनिसकेकी छिन्।

कान्छी मकवानपुरको जिल्लाको बासिन्दा हुन्। आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उनले किशोरावस्थामै भारतको सर्कसमा काम गर्नुपर्‍यो। करिब पाँच वर्षसम्म शारीरिक श्रम र भावनात्मक पीडा सहँदै सर्कसमा विताएको जीवनबाट फर्किँदा उनको अवस्था अत्यन्तै कमजोर थियो।

तर उनको जीवनमा मोड ल्यायो माइती नेपालले।
कान्छी भन्छिन्, “फर्केपछि माइती नेपालका मिसहरुले मलाई फेला पार्नुभयो। त्यहीँबाट मेरो नयाँ जीवन सुरु भयो।”

माइती नेपालमा बस्दादेखि उनले सिलाई-बुनाइसँगै मानव अधिकार, हिंसा विरुद्धको कानुनी ज्ञान र आत्मनिर्भर बन्ने सीप सिकिन्। तर उनलाई तालिम मात्र होइन, शिक्षा को गहिरो आवश्यकता थियो – जुन आवश्यकता पनि माइती नेपालले पुरा गरिदियो।

“त्यो बेलामा गाउँ फर्कन सक्ने अवस्था थिएन। मानिसहरुले हेप्थे, भेदभाव गर्थे। माइती नेपालमै ६ महिना बसेर मैले जीवन बाँच्ने आधार पाएँ,” कान्छी सम्झिन्छिन्।

आज उनी न केवल आत्मनिर्भर बनेकी छन्, तर अरुलाई पनि जीवनको बाटो देखाइरहेकी छन्। मानव बेचविखनमा परेका वा जोखिममा रहेका बालिकाहरूलाई बचाउने काममा कान्छी अग्रसर छिन्।

“सर्कस जान खोज्ने केटीहरुलाई मैले मेरो कथा सुनाएर रोक्न खोजें। साँचो कुरा सुनाउँदा धेरैजसो मान्थे,” उनी भन्छिन्।

उनले हिंसामा परेका महिला तथा बालबालिकालाई सम्बन्धित संस्थामा पुर्याउने, सरकारी संयन्त्रसँग समन्वय गर्ने, र विभिन्न संघसंस्थासँग सहकार्य गर्ने काम निरन्तर गरिरहेकी छन्।

उनको कामको प्रभाव यति गहिरो रह्यो कि उनले विभिन्न संघसंस्थासँग सहकार्य गर्ने अवसर पाइन्। माइती नेपालमार्फत उनको चिनाजान विस्तार भयो र अहिले कान्छी एक प्रतिबद्ध सामाजिक अभियन्ताको रूपमा उभिएकी छन्।

“परिवारको अवस्था कमजोर भए पनि समाजको लागी केही गर्न सकिन्छ भन्ने कुरा मैले सिके। दुःख देख्दा रोक्न सक्नुपर्छ भन्ने मेरो बिश्वास हो,” उनी भन्छिन्।

कान्छीको यात्रा केवल एक व्यक्तिको जीवनको संघर्ष होइन, यो परिवर्तन र प्रेरणाको कथा हो। सर्कसको पिँजराबाट मुक्त हुँदै, उनले आफू मात्र होइन, धेरैको जीवन बदल्न थालिसकेकी छन्।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan