नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सर्वाधिक राशीको पत्रकारिता पुरस्कार पत्रकार सुदीप शिवाकोटीलाई समर्पण गरिने भएको छ ।
बुधबार युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले नगद ५० हजार राशीको ‘स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता सम्मान–२०८३’ पत्रकार शिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त पुरस्कार स्थापनाको लागि गैरआवासीय नेपाली अन्तर्राष्ट्रिय संघ (एनआरएनए) का केन्द्रीय संस्थापक सचिव चिरञ्जीवी ढकाल (हाल यूके) ले सहयोग गरेका हुन् ।
शुक्रबार शुभ दीपावलीको पावन अवसरमा आयोजना हुन लागेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा प्रेस युनियन मकवानपुरका सदस्य एवम् कान्तिपुर मिडिया ग्रुपका अमेरिका संवाददाता शिवाकोटीलाई उक्त सम्मान प्रदान गर्न लागिएको हो ।
सम्मानित हुन लागेका शिवाकोटी पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । उनी प्रेस युनियन मकवानपुरका सदस्य एवम् कान्तिपुर मिडिया ग्रुपका अमेरिका संवाददाता, नेपाल पत्रकार महासंघका पूर्व बागमती प्रदेश सदस्य तथा मकवानपुर शाखाका पूर्व कोषाध्यक्ष समेत हुन् ।

