मकवानपुर । तिहार नजिकिएसँगै हेटौँडा बजारमा प्रतिबन्धित प्लास्टिकका कृत्रिम फूलमाला खुलेआम बिक्रीका लागि राखिएको पाइएको छ। वातावरण प्रदूषण न्यूनीकरण र स्थानीय फूल उत्पादक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले प्लास्टिकका फूल, माला तथा गुच्छाको उत्पादन, आयात र बिक्री–वितरणमा प्रतिबन्ध लगाए पनि हेटौँडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रका पसलहरूमा यस्ता सामग्री बिक्री भइरहेका छन्।
तिहारलाई लक्षित गरी बजारका विभिन्न पसलमा कृत्रिम प्लास्टिकका फूलमाला सजाएर बिक्रीका लागि राखिएका छन्। सरकारले प्रतिबन्ध लगाएको सामग्री बजारमै खुलेआम बिक्री भइरहँदा अनुगमन तथा नियमन गर्ने निकायको भूमिकामाथि प्रश्न उठेको छ।
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले वातावरण प्रदूषण कम गर्न र स्वदेशी फूल उत्पादन तथा व्यवसायलाई प्रोत्साहन गर्न प्लास्टिकका फूलमाला तथा गुच्छाको उत्पादन, आयात र बिक्री–वितरणमा प्रतिबन्ध लगाएको छ। तर, सरकारी निर्णय कार्यान्वयन गराउने जिम्मेवारी पाएका निकायले प्रभावकारी अनुगमन गर्न नसक्दा बजारमा प्रतिबन्धित सामग्रीको बिक्री रोकिएको छैन।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले प्रतिबन्धित प्लास्टिकका फूलमाला बिक्री हुन नदिन स्थानीय तहले अनुगमन गर्नुपर्ने बताए ।
हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वलीले प्रतिबन्धित प्लास्टिकका फूलमाला बिक्री हुन नदिन नगर प्रहरी परिचालन गरिएको बताए । त्यस्ता सामग्री बिक्री गरेको पाइए जफत गर्न निर्देशन दिइएको उनले जानकारी दिए। नगरपालिकाले यस विषयमा सूचना जारी गर्ने तयारीसमेत गरेको उनको भनाइ छ।

