Search
Close this search box.

समाचार प्रभाव : घाउले थलिएकी किशोरीको उद्धार, उपचारका लागि भरतपुर अस्पताल रिफर


हेटौंडा। हेटौंडा बसपार्क क्षेत्रमा लामो समयदेखि गम्भीर घाउ लिएर सडकमा बस्दै आएकी १७ वर्षीया किशोरी ‘चमेली’ (नाम परिवर्तन) को उद्धार गरिएको छ। सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि सरोकारवाला निकायहरूको समन्वयमा उनलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको हो।

मानव अधिकार आयोग बागमती प्रदेश, जिल्ला प्रहरी कार्यालय मकवानपुर, सिविन र हेटौंडा अस्पताल अन्तर्गतको ओसिएमसी को संयुक्त पहलमा बुधबार प्रारम्भिक उपचारपछि उनलाई भरतपुर अस्पताल रिफर गरिएको हो।

मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख चन्द्रकान्त चापागाईं र सिविन मकवानपुरका प्रमुख झविन्द्र ज्ञवालीको नेतृत्वमा गरिएको पहलपछि किशोरीको उद्धार सम्भव भएको हो। सिविनका अनुसार, शुक्रबार किशोरीलाई सिविनको गाडीमा आमासहित भरतपुर अस्पताल लगिएको हो।

“उनको शरीरमा लागेको घाउ लामो समयसम्म उपचार नहुँदा भित्रसम्म गम्भीर असर परेको थियो। हेटौंडामा आवश्यक शल्यक्रिया सम्भव नभएपछि भरतपुर रिफर गरिएको हो,” सिविन प्रमुख ज्ञवालीले जानकारी दिए।

११ कक्षासम्म अध्ययन गरेकी किशोरी सडकमा जीवन बिताउँदै आएकी थिइन्। हेटौंडा–१० स्थित बसपार्क क्षेत्रमा पटुकीले गम्भीर घाउ बाँधेर हिँडिरहेकी उनी दैनिक जीवन यापनका लागि स्थानीय चिया पसलहरूमा टहलिन्थिन्।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan