हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफू निर्वाचित क्षेत्रका केही विपन्न नागरिकलाई आफ्नो सेवा सुविधाबाट प्राप्त हुने रकमबाट घर निर्माण गरिदिने प्रतिवद्धता पूरा गरेका छन् । मकवानपुरको मनहरी गाउँपालिका ९ ज्यामिरेकी एकल दलित महिला मिठुमाया सुनारको घर निर्माण गरी आइतबार एक कार्यक्रमकाबीच बानियाँले हस्तान्तरण गरेका हुन् ।
गत साउनमा मुख्यमन्त्री नियुक्त हुने बित्तिकै बानियाँले आफूले राज्यका सेवा सुविधा नलिने र प्राप्त सेवा सुविधाबाट विपन्न नागरिकको घर निर्माण गरिदिने प्रतिवद्धता जनाएका थिए । ७ लाख रुपैयाँ कुल सरकारी स्टिमेट रहेको शौचालयसहितको ३ कोठे घर निर्माणमा बानियाँले व्यक्तिगत रुपमा ४ लाख ६५ हजार रुपैयाँ लगानी गरेर सम्पन्न गराएका हुन् । पिल्लर हालेर ब्लकको पर्खाल लगाई निर्माण गरिएको घरको छानोमा जस्ता लगाइएको छ । घर निर्माणका लागि नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुबाट पनि श्रमदानसहित नगद सहयोग भएको घर निर्माणका संयोजनकर्ता नेपाली काँग्रेस मनहरी गाउँपालिकाका सभापति प्रकाश वर्तौलाले जानकारी दिए । घर हस्तान्तरणसँगै मुख्यमन्त्री बानियाँले आय आर्जनका लागि तत्काल बाख्रा खरिद गर्न मिठुमाया सुनारलाई नगद २० हजार रुपैयाँसमेत हस्तान्तरण गरेका छन् ।
गरिबीकै कारण केही वर्षअघि मिठुमायाको पतिले आत्महत्या गरेपछि ६ जनाको उनको परिवार बिचल्लीमा परेको थियो । बस्ने बासको नाममा झुप्रो घर मात्र थियो । विपन्न, दलित एकल महिलालाई साहरा दिने उद्देश्यले मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले घर निर्माणका लागि मुख्यमन्त्री बानियाँलाई सिफारिस गरेका थिए ।
सुनारसँगै बानियाँले आफू निर्वाचित निर्वाचन क्षेत्र मकवानपुरको क्षेत्र नम्बर २ (ख) मा अन्य २ जना विपन्न नागरिकको पनि व्यक्तिगत खर्चमै घर निर्माण गराइरहेका छन् । राक्सिराङ गाउँपालिका–१ इन्द्रुङ्गका सुमनसिं चेपाङको अर्को घरसमेत द्रुतगतिमा निर्माण भईरहेको र कात्तिक महिनाभित्र सम्पन्न गरी हस्तान्तरण गरिने मुख्यमन्त्री बानियाँको सचिवालयले जनाएको छ । यस्तै कैलाश गाउँपालिका– ४ धुस्राङका लालकुमार प्रजा चेपाङको घर पनि बानियाँले निर्माण गराइरहेका छन् । ५० वर्षका लालकुमार केही समयदेखि जीर्ण अवस्थामा रहेको घरमा बस्दै आइरहेका थिए ।
मिठुमायाको घर हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले मानवीय सेवाको लागि आफूहरुले राजनीति गरेको भन्दै उनले आफूले व्यक्तिगत रुपमा र सरकारी तहबाट गरिब र विपन्नलाई माथि उकास्ने हिसाबले काम गर्ने प्रतिवद्धता जनाए । आफूहरुले बागमती प्रदेशका गरिब विपन्न परिवारको छनौट गरी एक हजार वटा घर निर्माण गर्ने लक्ष्य रहेको समेत बताए । ५ लाख रुपैयाँमा एउटा घर निर्माण सम्पन्न गर्दा एक हजार घर बनाउन ५० करोड र प्रति परिवार आय आर्जनमुलक कार्यक्रममा २ लाख ५० हजार खर्च गर्दा २५ करोड रुपैयाँ लगानी गर्दा एक हजार परिवारले आवासका साथै आयमुलक कामसमेत गर्नसक्ने मुख्यमन्त्री बानियाँको भनाइ छ ।
घर हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश सरकारको सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेल, नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा, मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, घर निर्माण संयोजनकर्ता नेपाली काँग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्ताला, मनहरी गाउँपालिका ९ नम्बर वडाध्यक्ष राजकुमार श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


