Search
Close this search box.

मकवानपुरको मनहरीमा ग्यास बुलेटको ठक्करबाट युवकको मृत्यु, श्रीमती गम्भीर घाइते

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ लचकास्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान ग्यास बुलेटको ठक्करबाट एक युवकको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार बिहान करिब ९:२५ बजे चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.२–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशातर्फ आइरहेको NL01N0280 नम्बरको ग्यास बुलेटले ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटर चालक सिन्धुपालचोक चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठ गम्भीर घाइते भई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएका थिए। तर, बिहान १०:५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

स्कुटर पछाडि सवार उनकी श्रीमती २८ वर्षीया सरस्वती श्रेष्ठ गम्भीर घाइते भएकी छन्। उनलाई उपचारका लागि चितवनको एलाईभ अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

सो स्कुटरमा उनीहरूसँगै सवार करिब २ वर्षका छोरा प्रविन श्रेष्ठ पनि रहेका थिए। बालकको अवस्था सामान्य रहेको र उनी आमासँगै अस्पतालमा रहेको प्रहरीको भनाइ छ।

ग्यास बुलेट र चालक प्रहरी नियन्त्रणमा रहेका छन्। ठक्कर दिने चालक भारत बिहारका ५५ वर्षीय मोहमद मतिन भएको प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan